आजदेखि मुलुकभर एचपीभी अभियान सञ्चालन, पौने १७ लाख बढी किशोरीलाई खोप दिने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार ०६:३४

विराटनगर । पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आज (मंगलबार)देखि मुलुकभर सञ्चालन गरिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर विद्यालय केन्द्रित निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो । खोप अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने छ ।

Advertisement

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पाठेघरको मुखको क्यान्सर छ । त्यसको जोखिमबाट बचाउने उद्देश्यले एचपीभी खोप अभियान सरकारले सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पौने १७ लाख बढी किशोरीलाई खोप दिने तयारी छ ।

अभियानमा १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइने छ ।

तोकिएको उमेर समूहका किशोरीहरु नछुटुन् भन्ने उद्देश्य सरकारको रहेको छ । खोप अभियानका लागि २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयंसेवक र १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालित छन् । विद्यालयहरुमा १८ हजार ९ सय र अन्य स्थानमा ८ हजार २ सय खोप केन्द्र तोकिएको छ ।

मन्त्रालयले कुनै पनि जोखिम नरहेकाले ढुक्क भएर खोप चलाउन सबैमा आह्वान गरेको छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपीभी खोप लगाउनैपर्ने हुन्छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा छ ।

पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउने चिकित्सकहरु बताउँछन् । एचपीभी खोप पाठेघरको मुखको क्यान्सरका लागि सुरक्षित र प्रभावकारी मानिन्छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । खोपले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने बताइएको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार ०६:३४
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.