
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै सरकारी वकिलमाथि छानबिन सुरु गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन अघि बढाएको हो । नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा समिति गठन गरेर छानबिन अघि बढाइएको छ ।
साहारा चितवन सहकारीको रकम अपचलनसँग जोडिएको मुद्दामा लामिछानेलाई ठगीको कसुरमा मात्रै प्रतिवादी बनाइएको छ । संगठित अपराधमा प्रतिवादी नबनाएपछि सरकारी वकिलमाथि नै छानबिन सुरु भएको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जिल्ला न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन सुरु भएको जानकारी दिए । उनका अनुसार अभियोगपत्रको विषयमा छानबिन सुरु भएको छ ।
लुइँटेललाई चितवनबाट महान्यायाधिवक्ताको कार्यालयमा तानिसकिएको छ । लामिछानेमाथि पोखरा, बुटवलमा ठगीसँगै संगठित अपराधमा पनि मुद्दा चलेको थियो । चितवनमा भने ठगी मात्रै चलाइएको छ ।
साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा पुगेको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको अभियोगपत्रमा उल्लेख छ । रकम खर्च गर्न लामिछानेले ८ सय १४ वटा चेक काटेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

























