
काठमाडौं । महिलामाथि हुने साइबर अपराधसँग सम्बन्धित उजुरीको हदम्याद बढाउन प्रस्ताव गरिएको छ ।
अपराध भएमा ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसलाई बढाएर ९० दिन पुर्याउने ऐन बनाउनुपर्ने प्रस्ताव नेपाल कानुन आयोगले गरेको हो ।
विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७४ मा उजुरीको हदम्याद सम्बन्धी व्यवस्था छ । दफा ७४ को उपदफा १ मा घटना भएको वा थाहा पाएको मितिले ३५ दिनभित्रमा उजुरी गर्नुपर्ने व्यवस्था छ ।
उपदफा १ को ३५ दिने प्रवधानलाई हटाएर उजुरी दिने समय ९० दिन पुर्याउनुपर्ने प्रस्ताव गरिएको हो । त्यसका लागि यौनजन्य हिंसाविरुद्धका केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।
प्रस्तावित विधेयकको दफा २ मा विद्युतीय कारोबार ऐन २०६३ को दफा ७४ मा रहेको हदम्याद सम्बन्धी व्यवस्थालाई बदल्ने प्रस्ताव गरिएको छ । विधेयकमा कसुर भए गरेको थाहा पाएको मितिले नब्बे दिनभित्र र यस ऐन बमोजिम अन्य कसुर ठहर्ने कुनै कार्य भएकोमा वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा त्यस्तो कसुर भए गरेको वा उल्लंघन भएको थाहा पाएको मितिले पैंतीस दिनभित्र उजुर गर्नुपर्ने प्रस्ताव गरिएको हो ।
ऐनको दफा ४७ मा कम्युटर, इन्टरनेटलगायतका विद्युतीय माध्यमबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ ।

























