
खोटाङ । आफूलाई कृषिविज्ञ भनेर चिनाउने मदन राईलाई बालयौन दुर्व्यवहारमा साढे २ वर्ष कैद सजाय तोकिएको छ ।
बालयौन दुरूपयोग मुद्दामा उनलाई जिल्ला अदालत खोटाङले माघ १० गते नै दोषी ठहर गरिसकेको थियो । सजाय निर्धारणका क्रममा शुक्रबार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले २ वर्ष ६ महिना कैद कायम गरेको हो ।
राईलाई १ लाख जरिबाना र पीडित किशोरीलाई १ लाख ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताए । राई खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका बासिन्दा हुन् ।
आफूलाई कृषि वैज्ञानिक भन्न रुचाउने राईमाथि खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनमा राखिएकी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप थियो । उक्त फाउण्डेशन राई आफैँले सञ्चालन गरेका हुन् ।
फाउण्डेशनमा ७ वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प्रहरीले २०८० साल वैशाख २९ गते राईलाई पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय खोटाङले २०८० जेठ २१ गते राईविरुद्ध बालयौन दुरूपयोग सम्बन्धी मुद्दा अदालतमा दर्ता गरेको थियो । उनलाई अदालतले २०८० जेठ २२ गते ४ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । तर, राईले फाउण्डेशनमा जान नपाउने आदेश गर्यो ।
त्यतिबेला धरौटी बुझाएर छुटेका राई अहिले मुद्दाको किनारा लाग्दा कसुरदार ठहर भएका हुन् । सरकारी वकिल कार्यालयले भने राईलाई ३ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिबानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

























