
धनगढी । विद्यालयबाट पढेर फर्कदै गरेकी बालिकालाई चक्कु देखाएर बलात्कार गरिएको घटना बाहिर आएको छ ।
घटना धनगढीको हो । बाजुराबाट १४ वर्षीया बालिका अध्ययनका लागि धनगढी आएकी थिइन् । धनगढीमा बसेर अध्ययन गर्दै आएकी उनलाई १८ वर्षीय युवकले बिहीबार साँझ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर ती युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएर आफ्नो घर लगेका थिए । घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घरमा लगेर बालिकालाई बलात्कार गरेपछि युवक फरार बनेका छन् । प्रहरीले घटनाको जानकारी शनिबार साँझ मात्रै पाएको थियो । जिल्ला प्रहरी कार्यालय धनगढीका डीएसपी कविन्द्रसिंह बोहराले किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न युवकको खोजी भइरहेको जानकारी दिए ।
‘किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगी बलात्कार गरेको खुलेको छ,’ उनले भने, ‘घटनापछि फरार रहेका युवकको खोजी तीव्र पारिएको छ ।’ बोहराले पीडित बालिका कक्षा ७ मा अध्ययनरत रहेको बताए ।

























