
विराटनगर । मोरङ र इलामबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधसहित विराटनगरबाट ३ र इलामबाट १ जना पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका–१७ बाट मोरङको बेलबारी नगरपालिका–४ का ३२ वर्षीय विजय राई पक्राउ परेका छन् । भारतको जोगवनीबाट लिएर आउँदै गरेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले राई सवार रहेको प्रदेश १–०२–०५४ प २१३६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ३३ वर्षीय बालकृष्ण परियार र २० बर्षीय मौषम धिमाल पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सय ५ चक्की ट्रमाडोल बरामद भएको प्रहरीले जनाएको छ ।
यसैबीच, इलामको माई नगरपालिका–७ का ४५ वर्षीय टेकबहादुर लिम्बू पक्राउ परेका छन् । प्रहरीका अनुसार लिम्बूको साथबाट ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























