
विराटनगर । विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा.लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए । उनका अनुसार घटनाका बारेमा प्रहरीले आज (शुक्रबार) बिहान ९ बजेतिर जानकारी पाएको थियो ।
घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिन्छ ।
उक्त कारको मूल्य ८० लाखभन्दा बढी पर्ने जानकारी सोरुमले प्रहरीलाई दिएको छ । सोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले फेला पारिसकेको छ । कार चोरी गरेर लगेको आरोपमा १ जना पक्राउसमेत परेका छन् ।
सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई सुनसरीबाट गाडीसहित पक्राउ गरिएको हो । पेट्रोल सकिएपछि बिनले कार अघि बढाउन सकेका थिएनन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिनले सोरुमको सिसा फुटाउन सानो कंक्रिटको ब्लक प्रयोग गरेको प्रहरीको भनाइ छ । सोरुमभित्र एउटा मात्रै गाडी रहेको र अन्य सामान नहराएको बताइएको छ ।
गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण चोरेर लैजानलाई सजिलो भएको पाइएको इन्स्पेक्टर ओलीले बताए । उनका अनुसार सोरुममा रहेको सीसी क्यामेराको फुटेजबाट अनुसन्धान सुरु गरिएसँगै चोरीमा संलग्नलाई पक्राउ गरेर कारसमेत फेला पारिएको छ ।


























