सुधार केन्द्रमा कुटपिट गरेर युवकको हत्या

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १४:५४

बारा । सुधार केन्द्रमा कुटपिट गरेर १ जना युवकको हत्या गरिएको छ । ७ जनाको समूहले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका युवकको मृत्यु भएको हो ।

बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म पुनःस्थापना केन्द्र नामक सुधार केन्द्रमा घटना भएको हो । कुटपिटबाट कलैया उपमहानगरपालिका–९ का धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको मृत्यु भएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए । उनका अनुसार शुक्रबार बिहानका राति २ बजेतिर घटना भएको हो ।

लागुऔषधको लत छुटाउनका लागि मण्डललाई २ साताअघि मात्रै सुधार केन्द्रमा भर्ना गरिएको थियो । अन्य व्यक्तिसँग विवाद भएपछि उनीमाथि कुटपिट गरिएको प्रहरीको भनाइ छ । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएका मण्डललाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

एसपी तामाङका अनुसार कुटपिटमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, १९ वर्षीय सागर गुप्ता, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली, १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ र कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.