उमागौरी सहकारीका अध्यक्षको बयान : ‘प्रदेश रजिष्ट्रारले घुस मागे’

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २, शुक्रबार २०:५७

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले कोशी प्रदेशको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले घुस मागेको बयान दिएका छन् ।

आफूसँग खत्रीले ३ लाख रूपैयाँ मागेको बयान जिल्ला अदालत मोरङमा रौनियारले दिएका हुन् । सामान्य अवस्थामा सञ्चालन भइरहेको सहकारीमा रजिष्ट्रार खत्रीले घुस माग गरेको र नदिएपछि ‘केही भइजाला’ भन्दै धम्की दिएको रौनियारले अदालतमा दिएको बयानमा उल्लेख छ ।

Advertisement

रौनियार माघ १४ गते अदालतमा उपस्थित भएका थिए । न्यायाधीश अरुणकुमार झाको इजलासले उनलाई थुना राखेर मुद्दाको पुर्पक्ष गर्न माघ २० गते आदेश दिएको थियो । आदेशपछि रौनियार कारागार चलान भएका छन् ।

अदालतमा ३ दिन लगाएर रौनियारको बयान लिइएको थियो । ‘अडिट’को काम गर्ने खत्रीले आफूलाई फोन गरेर वार्षिक ३ लाख रुपैयाँ माग गरेको बयान रौनियारले दिएका हुन् ।

‘प्रदेश विभाजन भएपछि विभिन्न सेवा केन्द्रको जानकारी र त्यसका प्रतिवेदन रजिष्ट्रार कार्यालयलाई नियमित बुझाउँदै आइरहेको अवस्था थियो । रजिष्ट्रार कार्यालय स्थापना भएपछि हामीले हाम्रो कार्यालयबाट नियमित रुपले संस्था अनुगमन गरी पाउँ भन्दा भन्दै रजिष्ट्रार कार्यालयले संस्था अनुगमन नगरेको पाइन्छ,’ बयानका क्रममा सोधिएको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘त्यस पश्चात हरिबहादुर खत्रीले जिम्मेवारी पाएपछि उहाँले विभिन्न सहकारी संस्थाहरुको लेखापरीक्षण गर्ने, सहकारीहरुलाई महँगो शुल्क लिइ लेखापरीक्षण भागिरथ खनाल तथा एसोसियटसलगायत अन्यसँग गराएको पाइन्छ । सोही सन्दर्भमा हाम्रो अफिसको कार्यालयमा फोन गरी हरिबहादुर खत्रीले लेखापरीक्षण हामीबाटै गर्नुपर्छ । संस्था राम्रोसँग सञ्चालन गर्ने वातावरण बनाइदिन्छौं भनेर ३ लाख रुपैयाँ वार्षिक माग गरेका थिए ।’

सर्त नमानेपछि आफूलाई धम्कीपूर्ण भाषाको म्यासेज आएको रौनियारले बयानमा उल्लेख गरेका छन् । ‘सर्त नमानेपछि मेरो मोबाइलमा म्यासेज पठाएर भनेको मान्ने कि नमान्ने ? नमानेको खण्डमा ‘केही भइजाला’ यसको जवाफदेहिता तपाईंले लिनुपर्छ भनी मेरो मोबाइल नम्बर ९८४२०४५८०० मा धम्कीपूर्ण भाषा प्रयोग गरी म्यासेज पठाएपछि सोको उजुरी मिति २०८१–०७–०६ गते संस्थाका ९ जना सञ्चालकसहितले प्रधानमन्त्री कार्यालय, सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सोको दर्ता नं सि–०२४८५८ मिति २०८१–०७–०६ गते, त्यसै गरी सम्पति शुद्धीकरण विभागमा सोही मितिमा दर्ता गरेका थियौं,’ उनले भनेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सहकारी विभाग, भूमि व्यवस्था, कृषि तथा गरिबी निवारण मन्त्रालयलाई पनि खत्रीले ३ लाख मागेको विषयमा पत्र पठाएको बयान दिएका छन् । खत्री ‘अडिटर’ पनि हुन् ।

प्रदेश सहकारी रजिष्ट्रारको जिम्मेवारी पाउनुअघि खत्रीले विभिन्न संस्थाको ‘अडिट’ गरेका थिए । ‘सहकारी डुब्न थालेपछि उहाँ (खत्री)ले अडिट गरेको जानकारी छैन । त्यसअघि उहाँले अरुको नाममा सहकारी संस्थाको ‘अडिट’ गर्नुहुन्थ्यो,’ उनी निकट एक लेखापरीक्षकले भने, ‘पछिल्लो समय चाहिँ ‘अडिट’ गरेको जानकारी छैन । पहिले चाहिँ निक्कै गर्नुहुन्थ्यो ।’

प्रदेश सहकारी रजिष्ट्रार खत्री रौनियारले आफूमाथि लगाएको आरोप निराधार भएको बताउँछन् । उनले रौनियालाई म्यासेज गरेको चाहिँ स्वीकार गरे । सहकारीमा समस्या देखिएपछि छलफलका लागि बोलाउँदा नआएपछि म्यासेज गरेको उनको भनाइ छ ।

उमागौरीको समस्या समाधानका लागि रजिष्ट्रार कार्यालयमा ४ पटक छलफल भएको जानकारी खत्रीले दिए । कार्यालयबाट अनुगमनमा जाँदा पनि सहकारीको कागजात नभेटिएको उनले बताए ।

‘बाहिर हुन्जेल मान्छेलाई ढाँटिरहे, चेक बाउन्स केसमा थुनामा परेपछि सहकारीको केस यहाँ (सहकारी रजिष्ट्रारमा) आयो । छलफल गरियो । सीडीओ कार्यालयमा पत्र पठाइयो,’ खत्री भन्छन्, ‘सम्पर्क गर्दा फोन नउठाएपछि सदस्यलाई दिनुपर्ने पैसा कहिलेसम्म दिनुहुन्छ । दिनसक्नु हुन्न भने फरक तरिकाले हुन्छ भन्ने कुरा एसएमएस पठाएको थिएँ । त्यसलाई भजाएर मसँग पैसा माग्यो भन्दै ‘इस्यू’ बनाएछन् ।’

सहकारीका अध्यक्ष रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा जिल्ला सरकारी वकिल कार्यालय मोरङले मंसिर २७ गते अदालतमा दर्ता गरेको थियो । मुद्दामा रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् ।

सहकारीको हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको थियो ।

गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.