नोबेल अस्पतालले ल्यायो क्यान्सर उपचारको अत्याधुनिक मेसिन

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ३, शनिबार १९:००

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले नेपालमै पहिलोपटक क्यान्सरको उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन ल्याएको छ ।

करिब १ अर्ब लागतमा भेरियन्ट कम्पनीको ‘एज’ मोडलको मेसिन ल्याएको हो । यो मेसिन एसियामा जम्मा ९ वटा छन् । नेपालमा पहिलोपटक नोबेलले अत्याधुनिक मेसिन ल्याएको अस्पतालका सञ्चालक एवं मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद डाक्टर सुनील शर्माले जानकारी दिए ।

‘संसारमा यो रेडियो थेरापीको २ वटा ‘प्रमोनेन्ट कम्पनी’ छन् । एउटा ‘ब्रिटिस इलेक्ट्रा’ र अमेरिकन कम्पनी ‘भेरियन्ट’ छ । सार्क मुलुकमा अमेरिकन कम्पनी बढी प्रयोग गर्छन् । यो रेडियो थेरापीको मेसिन भेरियन्टको ‘एज’ भन्ने मोडल हो,’ डाक्टर शर्माले भने, ‘नेपालमा पहिलो अर्थात् एउटा मात्र हो । नेपालको कुनै पनि अस्पतालमा जानुभयो भने यो मेसिन पाउनु हुन्न ।’

नेपालमा ‘टुबिन’ र ‘एलसिन’ भन्ने अरु मेसिन प्रचलित रहेको उनले बताए । उनका अनुसार ‘एज’ अत्याधुनिक मेसिन हो । ‘हामीले न्यूरो ‘स्टेभेसन’गर्छौं । कार्डियो सर्जरी गर्छौं । गंगालालमा हुने सबै सेवाहरु यहाँ दिन्छौं । ‘इन्टरभेसन कार्डियो सर्जरी’ गर्छौं । न्यूरोमा हामीले चाहिँ ‘इन्टरएपाराइटी एमआरआई’ राख्यौं । यो सबै सेवाहरु यहाँ राखेर ‘प्रेड्याट्रिक सेन्टर’हरु बनायौं,’ उनले भने ।

अब ‘लिभर टान्सप्लान्ट’ सुरु गर्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार मेसिन राखेको ठाउँ ‘बंकर’भन्दा कम छैन । किनभने मेसिन राखिएको हलको हरेक भित्ताको मोटाइ ९ फिटको छ । यो मेसिनको रेडियसन बाहिरको मान्छेलाई नजाओस् भनेर अत्याधुनिक बंकर बनाइएको शर्माले बताए ।

‘यो मेसिनसहित धेरै उपकरणहरु र अन्य आवश्यक सामग्रीहरुमा १ सय करोड जति लागेको छ,’ उनले भने, ‘एज मेसिन’ मात्रैको कुरो गर्ने हो भने नेपाली ५५-५६ करोडभन्दा कमको होइन ।’

मेसिन ल्याउने क्रममा दुःख पाएको उनले बताए । राज्यको नीतिका कारण मेसिन ल्याउन ३ वर्ष लागेको उनको भनाइ छ । ‘स्वीकृति लिन झमेला र झन्झट व्यहोर्नु पर्यो । स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएन । यति धेरै दुःख पाएर अहिले ‘मेसिन’ ल्यायौं,’ शर्मा भन्छन् ,‘३ वर्ष ढिला गरी राख्यौं । हाम्रो अस्पतालमा भारतको बिहार, कोलकाता, मणिपुरलगायत विभिन्न ठाउँबाट पनि बिरामीहरु आउँछन् ।’

उनले अन्यत्र भन्दा उपचार पनि सस्तो रहेको बताए । ‘यहाँ काठमाडौंभन्दा उपचार सस्तो छ । हामीले मुलुकभरिका दुर्गम क्षेत्रका, विपन्न बिरामीलाई भेट्यौं भने सरकारी कागज विपन्न ‘कार्ड’ र ‘इन्स्योरेन्स’भित्र हुने गरी सेवा दिन्छौं,’ शर्माले भने ,‘देशभरिका जहाँसुकैबाट आए पनि यहाँ क्यान्सर रोगको सेवाका लागि तयार छौं । यो मेसिनले १ दिनमा ८० जना बिरामीको उपचार गर्न सक्छ । २४ सैं घण्टा चलाउँदा १ सय जनाको उपचार हुन्छ ।’

नयाँ मेसिन ल्याइएसँगै ३ अर्ब ४० करोड लागतमा क्यान्सर विभागको संरचना तयार गरिएको डा. शर्माले बताए । ‘उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गरेका छौं,’ उनी भन्छन्, ‘क्यान्सर रोगीको ‘रेडिएसन थेरापी’ सेवा सुरु भएको छ ।’

उनले दक्षिण एसियाका अस्पतालमध्ये भारतको मुम्बईस्थिति कोकिलाबेन– धीरुभाई–अम्बानी अस्पताल, म्याक्स अस्पतालमा, नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा मात्रै यो प्रविधि रहेको जानकारी दिए । नोबेलमा अत्याधुनिक मेसिन ल्याइएसँगै अब नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने उनले बताए ।

उनले मेसिनको सहायताबाट ‘६ डी काउच’, ‘हाइपर आर्क’, ‘एचडी एम आईसी’, ‘एसआर एस’ र ‘एसबी आरटी’ले शल्यक्रिया बिना नै क्यान्सर सेललाई निर्मूल गर्नसक्ने बताए । ‘आईजी आरटी’, ‘आईएम आरटी’, ‘भीएम एटी’जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी क्यान्सर सेललाई मात्र ‘टार्गेट’ गर्ने उनको भनाइ छ । बिना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने जानकारी डा. शर्माले दिए ।

नोबेलमा क्यान्सर उपचारको लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्ना गरी उपचार गराइने अन्तरंग सेवा, रेडिएसन थेरापीलगायतका सेवा सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×