कार्यसम्पादन मूल्यांकनमा विराटनगर महानगर दोस्रो 

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार १९:०३

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ । 

६ वटा महानगरपालिका मध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । 

आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्यांकन गर्छ । ती सूचकहरू मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे / नगरेको, पारित गरे / नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे / नगरेको, राजस्वको विभाजन गरे / नगरेकोलगायत पर्छन् । 

आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत अंक ल्याएर पहिलो हुँदा वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेर छैटौँ अर्थात् अन्तिम भएको छ । 

तेस्रो हुने ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो । 

कार्यसम्पादन मूल्यांकनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले प्रतिक्रिया दिए ।

विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरपालिकाहरूलाई उछिन्नु नै खुसीको क्षण भएको उनको भनाइ थियो ।

‘यस अवसरमा सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा तथा शाखा प्रमुख, कर्मचारी, पत्रकार, नागरिक समाजसहित विराटनगरबासीमा हार्दिक धन्यवादसहित बधाई ज्ञापन गर्दछु,’ मेयर कोइरालाले भने, ‘अबको लक्ष्य पहिलो हुने हो । त्यसका लागि आजैदेखि सबैले आ–आफ्नो स्थानबाट काम गरौँ भन्ने आग्रह पनि गर्दछु ।’ 

विराटनगर महानगर बेरुजु फछर्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिका मध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर भएको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.