
झापा । लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित झापाबाट आज (आइतबार) बिहानका राति २ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–११ का अन्दाजी २९ वर्षीय मनिष प्रधान र ४० वर्षीय वीरेन उराउ पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले अर्जुधारा–११ बगानबाट पक्राउ गरेको हो ।
अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्दा साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु १ ग्राम ७ सय २० मिलिग्राम फेला परेको थियो । पक्राउ परेकाको साथबाट १९ हजार ६ सय नेपाली र ३ सय ७० भारतीय रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























