
विराटनगर । गाउँलेले बोलाएको पञ्चेतीमा आफूमाथि सामूहिक बलात्कार भएको भनेर जानकारी दिएकी १ जना किशोरी शंकास्पद अवस्थामा मृत फेला परेकी छन् ।
सिरहाको नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा मृत फेला परेको सिरहा प्रहरीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र पासवानले बताए । सदाले माघ २७ गते राति आफूलाई ३ जना युवाले सामूहिक बलात्कार गरेको बताएकी थिइन् ।
गाउँलेले बोलाएको पञ्चेतीमा उनले घरबाट अपहरण गरेर आफूलाई सामूहिक बलात्कार गरेको बयान दिएकी हुन् । अपहरण गरी सामूहिक बलात्कार गरेको घटनामा परिवारलाई मिलापत्रका लागि गाउँका अगुवाले पञ्चेती राखेर दबाब दिएका थिए ।
मिलापत्र गरेर घटना दबाउन खोजिएको केही दिनमै उनी मृत फेला परेकी हुन् । घरमै झुन्डिएको अवस्थामा गत माघ ३० गते साँझ उनको शव फेला परेको डीएसपी पासवानले बताए । उनको मृत्यु शंकास्पद रहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार घरको कोठामा बाहिरबाट चुकुल लगाइएको अवस्थामा उनी मृत फेला परेकी हुन् । यद्यपि, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनले आत्महत्या गरेको पत्ता लागेको छ ।
पीडित परिवारका अनुसार माघ २७ गते राति करिब ९ बजेतिर शौच गर्न निस्किएकी सदालाई स्थानीय रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर जबरजस्ती लगी बलात्कार गरेका थिए । माघ २८ गते बिहान करिब ३ बजेतिर उनलाई रुँदै गरेको अवस्थामा स्थानीयले फेला पारे ।
सदाले घटनाका बारेमा आफ्नी आमालाई सुनाएकी थिइन् । त्यसपछि घटना मिलाउन भनेर गाउँमा पञ्चेती बोलाइएको थियो । गाउँलेको भेलाले मिलापत्र गर्न दबाब दिएको स्थानीयको भनाइ छ ।
डीएसपी पासवानका अनुसार सामूहिक बलात्कारको विषय सञ्चारमाध्यमबाट थाहा भएको हो । बलात्कार भयो भनेर अहिलेसम्म प्रहरीमा जाहेरी नपरेको उनको भनाइ छ । तर, किशोरी मृत फेला परेपछि परिवारका सदस्यले टिंकु भनिने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको पासवानले बताए ।
‘आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी परेको छ । दर्ता गरेर पक्राउ पुर्जी जारी गरिसकिएको छ । टिंकु भनिने रुपेश मण्डल फरार रहेकाले खोजी तीव्र पारेका छौं,’ उनले भने । शवको पोस्टमार्टम सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको जानकारी पासवानले दिए ।
‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । पोस्टमार्टमपछि शवको शनिबार अन्त्येष्टि गरिसकिएको छ । किशोरमाथि बलात्कार भएको हो कि हैन भनेर रिपोर्टबाट थाहा हुन्छ । तर, अहिलेसम्म प्रहरीमा पञ्चेती र बलात्कारको कुरा आएको छैन । मिडियाबाट मात्रै थाहा भएको हो,’ उनले भने ।

























