
धरान । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विवादलाई लिएर सुनसरीको धरानमा कालोमोसो दल्ने ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई आइतबार मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान उपमहानगरपालिका–९ पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए । उनलाई मोसो दल्नेविरुद्ध अदालतबाट सोमबार पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी गरिएकाहरु पक्राउ परेका छैनन् । यद्यपि, खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउने प्रहरीको तयारी छ ।
माबोले आफूलाई मोसो दल्ने ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । पक्राउ पुर्जी जारी भएकाको नाम सार्वजनिक गरिएको छैन ।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबलकारको विरोध गर्नेहरूलाई गालीगलौज गरेको भन्दै कालोमोसो दलेर माफी माग्न लगाइएको थियो । प्रहरी स्रोतका अनुसार मोसो दल्ने जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले कानुनविपरीत काम गर्ने जो कोहीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइने जानकारी दिए । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा संलग्न भएका माबोले पाथीभरा मन्दिरमा केबलकार निर्माण हुँदा जिल्लाको विकास हुने बताउँदै आएका छन्।
जनमुक्ति पार्टीका उपमहासचिव थाम्देनले प्रहरीले पहिचान पक्षधर नेता कार्यकर्ताहरूलाई पक्राउ गर्न खोजेर झडपको स्थिति सिर्जना गरेको दाबी गरे । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको काम तत्काल बन्द नगरिए आन्दोलनलाई सशक्त बनाइने उनको चेतावनी छ ।

























