ताप्लेजुङेको माग – ‘केबलकार बन्नुपर्छ’ (तस्बिरहरु)

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १५:१७

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण चाँडै सक्नुपर्ने आवाज मजबुत बनेर गएको छ ।

ताप्लेजुङेहरुले केबलकार बन्नुपर्नेमा जोड दिएका हुन् । जिल्लाको सरोकार र समृद्धिसँग जोडिएको विषय
भएकाले केबलकार निर्माणमा अवरोध गर्ने नाममा बाहिरबाट कुनै हस्तक्षेप हुन आवश्यक नरहेकोमा उनीहरुको जोड छ । उनीहरुले भेला भएर एउटै स्वरमा भनेका, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’

सदरमुकाम फुङलिङमा मंगलबार भेला भएका सैयौं जिल्लावासीले सद्भाव र्‍याली निकाल्दै केबलकारले जिल्लाको समृद्धिमा थप टेवा पुग्ने भन्दै केबलकार निर्माण चाँडै सक्नुपर्ने माग राखेका छन् । तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन नागरिक सद्भाव र्‍याली निकालिएको स्थानीयको भनाइ छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सुरु भएको र्‍यालीले सदरमुकामका विभिन्न स्थानको परिक्रमा गरेको छ । ‘वृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानरसहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको छ ।

र्‍यालीमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायतका जनप्रतिनिधिसमेत सहभागी थिए । उद्योगी, व्यवसायी र नागरिक समाजका अगुवासहित र्‍यालीमा सबैले स्वस्फूर्त सहभागिता जनाएको उनको भनाइ छ । यसअघि पनि केबलकार पक्षधरले सद्भाव र मोटरसाइकल र्‍याली निकालेका थिए ।

यता केबलकारको विपक्षमा रहेर आन्दोलन गरिरहेको पक्षले भने पाथीभरा मन्दिरमा क्षमा पूजा र मुक्कुम्लुङ पदयात्रा सुरु गर्ने भएको छ । मंगलवारबाट सुरु हुने पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ पुग्ने बताइएको छ । मुन्धुमी धार्मिक स्थलमा भौतिक संरचना बनाएर साँस्कृतिक अतिक्रमण गरिएको भन्दै ‘युमामाङ’को प्रार्थनाका लागि क्षमा पूजा गर्न लागिएको दाबी ‘नो केबलकार’पक्षको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.