
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले माघ महिनाभरिको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै हवल्दार अधिकारीलाई ‘बेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेका हुन् । विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गरी उच्च मनोबल एवं साहसका साथ कर्तव्य निर्वाह गरेका कारण अधिकारी सर्वोत्कृष्ट प्रहरी बन्न सफल भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हवल्दार अधिकारीले विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेरुवा टोलमा मावली आएकी बालिकाको हत्या गरेर शव गाडेको घटना पत्ता लगाएका थिए । हत्या गरी खाल्डोमा खनेर गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव फेला परेको थियो ।
भारतको छपरा जिल्ला घर भएकी बालिकाको आफ्नै अभिभावक र मावली परिवारका सदस्य मिलेर हत्या गरेका थिए । हत्या गरेपछि मावली घरनजिकै खाल्डो खनेर शव गाडिएको थियो । माघ १८ गते खाल्डोबाट प्रहरीले शव निकालेको थियो ।
घटनामा संलग्न चाँदनीको मावली हजुरबुवा सरयुग मण्डलसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बालिकाको हत्या भएको र शव गाडिएको घटना पत्ता लगाउनेदेखि पहिचान गरेर घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हवल्दार अधिकारीले ‘बेस्ट पुलिस अफ दी मन्थ’को उपाधि पाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै हवल्दार अधिकारीलाई २०८१ साल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

























