नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीलाई अवार्ड प्रदान गरिँदै ।इटहरी । नयन एड्भरटाइजिङ मिडिया प्रा.लिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको ३ वर्ष प्रवेश गरेको अवसरमा बुधबार साँझ इटहरीमा समारोह आयोजना गरियो ।
उत्तः समारोहमा ‘कोशी एक्सिलेन्स अवार्ड’ विभिन्न १३ वटा विधाका व्यक्तिहरुलाई प्रदान गरियो । शिक्षा विधातर्फ प्रा.डा. टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरियो । त्यस्तै, कृषि तथा महिला उद्यम विधातर्फ शान्ता बास्कोटा, खेलकुदतर्फ दिलिप राई, बैंकिङतर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटनतर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधितर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगतलाई अवार्ड प्रदान गरिएको थियो ।
वरिष्ठ भाषाविद् प्रा.डा. न्यौपाने नेपाल बाहिर भएका कारण उनको अवार्ड डा। टोलानाथ काफ्लेले ग्रहण गरे । साहित्यकार घिमिरेको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको अवार्ड शिक्षासेवी लेखनाथ घिमिरेले ग्रहण गरे । युवा उद्यमी पारस लुनियाँ नेपाल बाहिर भएका कारण उनका प्रतिनिधि कपिल रेग्मीले अवार्ड ग्रहण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १३ जनालाई नै ट्रफी र विभूषणपत्र प्रदान गरेका थिए । वार्षिकोत्सवको अवसरमा १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई छन् ।
त्यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दाहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालका सबैभन्दा अग्ला व्यक्ति राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल सम्मानित भएका छन् । संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकाल, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल र नव दृष्टि आँखा अस्पतालका विजय गौतमलाई सम्मान गरिएको छ ।

नयन एड्भरटाइजिङका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समितिसमेत चयन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरेर अवार्ड प्रदान गरिएको उनले बताए ।
कार्यक्रमको अवसर पारेर सुनसरीका ३ सय जना सञ्चारकर्मी (पत्रकार)हरूको एनएलजी इन्स्योरेन्ससँग निःशुल्क दुर्घटना बीमाका लागि सम्झौता गरिएको छ । एनएलजी इन्स्योरेन्स इटहरीका वरिष्ठ अधिकृत भेषराज थापालाई बीमा गरिएको सञ्चारकर्मीको नामावली बुझाइएको थियो ।
‘सञ्चारकर्मीहरू जहिल्यै पनि अफ्टयारोमा पर्ने र सुरक्षाका सवालमा राज्यले पनि काम नगरिरहेको अवस्थामा हामीले दुर्घटना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘सुनसरीका सञ्चारकर्मी र प्रदेश खबरका विभिन्न जिल्लाका केही संवाददातासहित ३ सय जनाको दुर्घटना बीमाका लागि सम्झौता गरेका छौं ।’ उनका अनुसार बीमा सम्झौता १ वर्षको रहनेछ । यसबीचमा कोही दुर्घटना परिहालेको अवस्थामा १ लाख रुपैयाँसम्म उपचार खर्च प्राप्त गर्न सकिने अधिकारीले बताए ।
साथै, कार्यक्रममा सम्मानित व्यक्तिबाट पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले सम्बोधन गरेकी थिइन् भने अवार्ड प्राप्त गर्ने व्यक्तिबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका विष्णु निष्ठुरीले सम्बोधन गरेका थिए । मुख्यमन्त्री कार्कीले सम्बोधन गर्दै प्रदेश खबरले विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गर्नु आफैँमा सकारात्मक रहेको बताए ।
उनले भने, ‘स्थापनाको दोस्रो वर्ष पूरा गरेकै अवसरमा यसरी अवार्ड प्रदान गर्नु र सम्मान गर्नु आफैँमा सकारात्मक काम हो । अवार्ड प्राप्त गर्ने सबै व्यक्ति योग्य हुनुहुन्छ ।’ एउटा मिडियाले नै यो किसिमको कार्यक्रम आयोजना गर्नु उत्साहजनक रहेको उनको भनाइ छ ।
‘यस्तो व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो र मैले वितरण गर्ने मौका पाएँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘हुन त मैले अहिलेसम्म कुनै पाप गरेको छैन । त्यो पाप गरेको थिएँ भने पनि आजबाट मुक्त हुने भयो ।’ मुख्यमन्त्री कार्कीले जनताले प्रदेश चाहिन्छ भन्नेगरी काम गरिराखेको बताए । प्रदेश सरकारको स्रोत कमजोर भएपनि निजी क्षेत्रसँग समन्वय गरेर काम गरिरहेको उनले जनाए ।
प्रदेश सरकारले २०८२ सालमा लगानी सम्मेलन गर्ने र भ्रमण वर्षसमेत मनाउने भएकाले निजी क्षेत्र र खासगरी मिडियाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले प्रदेशमा रहेका उत्कृष्ट प्रतिभालाई सम्मान गर्नु सुखद् रहेको बताए ।
‘हाम्रो प्रदेशमा पर्यटनका प्रचुर सम्भावना छन् । धार्मिक पर्यटनका सम्भावना पनि छन्,’ उनले भने, ‘उद्योगका क्षेत्रमा विराटनगर मात्रै होइन । कृषिमा सुनसरी, मोरङ र झापा मात्रै होइन, पहाडी जिल्लालाई पनि प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ ।’ नेपालको सबैभन्दा अब्बल प्रदेश बनाउन सरकारसहित निजी क्षेत्रको पनि साथ आवश्यक पर्ने ढुंगानाले बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकले पत्रकारलाई कुनै पनि हानि नहुने बताए । ‘सुशासनका समस्यालाई सच्याएर अगाडि बढ्न आवश्यक छ । तर, आमसञ्चार विधेयकमा कोशी प्रदेश सरकारविरूद्व पत्रकार महासंघ आन्दोलित हुनुपर्दैन,’ उनले भने, ‘जुनसुकै विषयमा पनि प्रशस्तै छलफल होस् । प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्व छ ।’
प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले २०८२ मा भ्रमण वर्ष मनाउन लागिरहेकाले सफल बनाउन आह्वान गरे । ‘आजको यो कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर नेपालमै लुकेका प्रतिभालाई सम्मान गर्नुभएकोमा खुशी लागेको छ,’ उनले भने, ‘यो कार्यक्रमले केही हदसम्म भएपनि कोशीको पर्यटनलाई चिनाउने विश्वास लिएको छु ।’
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारहरूको निःशुल्क दुर्घटना बीमा गरेकोप्रति खुसी व्यक्त गरे । ‘संघीय सरकारले देशभरबाट जम्मा ७७ जनाको स्वास्थ्य बीमा गरेको छ । तर, एउटा मिडिया हाउसले ३ सय जनाको दुर्घटना बीमा गर्नु भनेको सरकारलाई चुनौती हो । पत्रकारहरूको सुरक्षाका सवालमा राज्य गम्भीर हुनुपर्छ भनेर महासंघले पटकपटक छलफल गरेपनि लागू भएको छैन,’ उनले भने ।
खासगरी प्रदेश सरकारले ल्याएको विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएकोमा दाहालले आपत्ति जनाए । ‘विधेयक सच्चियोस्, नभए पत्रकार महासंघ सडकमा आउन बाध्य हुनेछ,’ उनले भने ।
पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले पत्रकारको स्वास्थ्य बीमाका विषयमा पटकपटक आवाज उठाइरहेको बताए । ‘पत्रकारहरूले समाचार मात्रै लेख्दैनन् । ती व्यक्तिको सम्मान गर्ने र राज्यका हरेक निकायलाई जिम्मेवार बनाउन हाम्रो कलम चल्छ,’ उनले भने, ‘आज विधागत क्षेत्रमा जसरी अवार्ड प्रदान गरियो, यो राज्यले गर्नुपर्ने काम हो । यसले राज्यलाई एउटा मार्गचित्र गरेको छ ।’
पत्रकारका समस्या र चुनौती थपिँदै गएको र एउटा डिजिटल पत्रिकाले नै यो किसिमको कार्यक्रम गरेकोमा खड्काले प्रशंसा गरे । मिडियालाई उद्योगका रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रम संयोजक विवेक विवश रेग्मीले विभिन्न क्षेत्रमा काम गरिरहेकाहरूलाई उक्त अवार्डका कारण प्रोत्साहन मिल्ने बताए । ‘अग्रजको सम्मान र आउने पुस्तालाई प्रोत्साहनका निम्ति पनि यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘खासगरी कोशी प्रदेश सरकारले २०८२ साललाई भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको अवसरमा यो कार्यक्रमले केही हदसम्म पर्यटनलाई चिनाउनका निम्ति भूमिका खेल्ने विश्वास लिएको छु ।’
इटहरीस्थित सन्तोष धमलाले नेतृत्व गरेको काफल्सले कार्यक्रमको व्यवस्थापन गरेको थियो । उक्त कार्यक्रममा नेपाल क्लियरिङ हाउसले मुख्य प्रायोजन गरेको थियो भने ३ सय भन्दा बढी व्यक्तिहरू उपस्थित थिए ।
























