
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा स्वीकृत भएसँगै डीआईजी जनक भट्टराईको बढुवाको बाटो खुलेको छ ।
केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए । केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
गत २६ पुसमको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो । एआईजी भएको एक महिनामै उनले राजीनामा दिएका थिए । चैत ५ सम्म उनको समयसीमा थियो ।
डीआईजी जनक भट्टराईलाई एआईजी बनाउनका लागि गृह प्रशासनले सुरुमा नै केसीलाई राजीनामा गर्न राजी गराएको थियो । केसीको राजीनामा स्वीकृत भएपछि अब भट्टराईको बढुवाको बाटो खुलेको छ ।

























