
विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका १ जना व्यक्ति अवैध रूपमा बोकेको अमेरिकी डलरसहित पक्राउ परेका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार अन्सारीलाई विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलबाट शुक्रबार राति ८ बजेतिर पक्राउ गरिएको हो ।
उनी यती एयरलाइन्सको जहाजबाट काठमाडौं जाने तयारीमा थिए । प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) श्याम सुवेदी नेतृत्वको टोलीले चेकजाँच गर्दा अन्सारीले लगाएको कोटको गोजीभित्र अमेरिकी डलर फेला परेको थियो ।
उनको साथबाट १ सय दरका ८१ थान डलर बरामद भएको एसपी चिमरियाले बताए । त्यसको नेपाली रूपैयाँ नेपाली रूपैयाँ ११ हजार २ सय १४ रूपैयाँ बराबर हुन्छ । अवैध रूपमा बोकेको अमेरिकी डलरसहित अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्सारीले कुन बैंकबाट डलर साटेका हुन् भनेर खुलाउन सकेनन् ।
स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको जानकारी चिमरियाले दिए । यति धेरै अमेरिकी डलर बोकेर हिँड्न नेपालमा प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ । यद्यपि, अन्सारीले विदेशबाट आएका साथीलाई नेपाली रूपैयाँ दिएर आफूले डलर लिएको प्रहरीलाई बताएका छन् ।
अन्सारीले आफू केही समय अघिसम्म कतारमा बस्ने गरेको बताए । कतारमा बस्ने र नेपाल आउनेजाने गरेको उनको भनाइ छ । उनले मोबाइलमा आफ्नो पासपोर्ट (राहदानी)को फोटो पनि खिचेर राखेका छन् ।
अहिले भने साथीको आफन्त बिरामी भएर काठमाडौं जान लागेको बताएका छन् । अवैध रूपमा बोकेको डलरसहित पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको जानकारी एसपी चिमरियाले दिए ।

























