प्रधानमन्त्रीलाई गीत सुनाइरहने निर्मल : दिनभर कोशी अस्पताल, साँझमा तारे होटल

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन १०, शनिबार ११:१३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आएर बस्दा प्रायः ह्यारिसन होटल प्रयोग गर्छन् ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली गीत संगीत मन पराउने नेता हुन् । उनलाई मन पर्ने विधा धेरै छन् । तर, यहाँ गीत संगीतको चर्चा गर्न खोजिएको छ ।

Advertisement

विराटनगर आएर ह्यारिसन होटलमा बसेका बेला २ वर्षअघि उनलाई १ जना युवाले स्वरसम्राट् नारायण गोपालको गीत गाएर सुनाए । विराटनगर महानगरपालिका–३ का निर्मल शर्मा कट्टेलले नारायण गोपालको गीत गाइरहँदा ओली मन्त्रमुग्ध भए । निर्मलको गायकीलाई मन पराए ।

ओलीसँगै गीत सुन्नेमा पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत थिए । हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन भएका निर्मलको गायन कौशल सबैलाई मोहित पार्ने खालकै छ । ओली आएर विराटनगर बसेका बेला उनी गीत सुनाउन पुग्छन् ।

आफ्नो कुशलताले ओलीकै मन जित्न सफल भएका छन् । स्वरका धनी निर्मलसँग ओलीलाई पटकपटक गीत गाएर सुनाएको अनुभव छ । गायन प्रस्तुतिले ओलीको रोजाइमा पर्न सफल भएका उनी व्यावसायिक गायकहरु जत्तिकै अब्बल छन् ।

प्रधानमन्त्री ओली मात्रै हैन, गीत गाएको प्रत्यक्ष सुनेका र देखेकाहरुले उनको राम्रै प्रशंसा गर्छन् । निर्मलको गायन कलालाई सबैले मन पराउँछन् । त्यसले उनलाई हौसला मिलेको छ ।

‘मुलुककै प्रधानमन्त्रीलाई बारम्बार गीत सुनाउन पाउँदा गर्व महसुस नहुने कुरै भएन । मेरो गायन क्षमतालाई उहाँले मन पराइदिनु भएको छ,’ निर्मल भन्छन्, ‘प्रधानमन्त्री मात्रै हैन, प्रायः सबैले मनपराइदिनु हुन्छ । मेरो लागि त्यही ठूलो सम्पत्ति हो ।’ गीत गाउन उपयुक्त स्वर हुनुपर्छ । सार्वजनिक हिसाबले गाउनसक्ने क्षमता राख्नुपर्छ ।

गीत गाउँदा सबैको ध्यान खिच्न सक्नुपर्छ । त्यो सबै कुराबाट निर्मल परिपूर्ण छन् । गजब स्वर नभएको भए प्रधानमन्त्रीको रोजाइमा पर्ने नै थिएनन् । उनी विराटनगरमा प्रधानमन्त्री ओलीलगायतलाई गीत सुनाइरहनेमा पर्छन् ।

गलाले भरिपूर्ण निर्मलका आफ्नै गीतहरु त छैनन् । तर, अरु चर्चित गायकहरुले गाएका गीतलाई जस्ताको तस्तै गाउनसक्ने क्षमता राख्छन् । नेपाली आधुनिक गीतहरुमा दमदार प्रस्तुति दिन्छन् ।

सानामा विद्यालय जाँदाआउँदा गुनगुनाउने गर्थे । बाटोमा गुनगुनाएको सुनेर साथीभाइहरुले ‘तेरो स्वर एकदम राम्रो छ’ भन्दै गीत गराएर सुनाउन आग्रह गर्थे । गीत गाउँदै हिँड्दा विद्यालय जाने बाटो कटेको अहिले पनि याद आउने निर्मल बताउँछन् ।

‘गीत गाउँदै बाटो कटेको थाहै हुँदैन थियो । गाउनलाई सानैदेखि मन लाग्थ्यो । अरुले राम्रो गीत गाएको सुन्दा लोभ लाग्थ्यो । गायन क्षेत्रमा लाग्ने विचार थियो । तर, समय र परिस्थितिले गीत संगीतलाई पेसा बनाउन भने सकिएन,’ उनले भने । आफूले सोचेजस्तो हुन नसके पनि गायनलाई उनले आंशिक रूपमा अँगाल्दै आएका छन् ।

उनी स्कुलका कार्यक्रममा सधैं गीत गाउने गर्थे । विभिन्न ‘स्टेज’मा सानैदेखि प्रस्तुत हुन्थे । साथीभाइहरुसँग देउसी–भैलो खेल्न जाँदा भट्याउने जिम्मेवारी उनकै हुन्थ्यो । त्यसैलाई उनले अवसरको रूपमा सदुपयोग गरे । स्वरमा निखारपन दिन सफल भए ।

‘सोचेजस्तो सबै हुँदैन । सयम र परिस्थतिले गायन क्षेत्रमै पूर्णरुपमा प्रवेश गर्न सकिएन । तर, नियमित गीत गाउँछु,’ निर्मलले भने । अहिले निर्मल विराटनगरको कोशी अस्पतालमा कार्यरत छन् । दिनभर अस्पतालकै काममा व्यस्त हुन्छन् ।

जागिरमा व्यस्त हुँदा अरुतिर समय दिन भ्याउँदैनन् । तर, छुट्टी भइसकेपछि साँझपख विराटनगरका तारे होटलमा आफ्नो स्वर पस्कन पुग्छन् । गायन उनको सोख हो । गजल रेष्टुरेन्टबाट व्यवसायिक गायन क्षेत्रमा लागेको निर्मल बताउँछन् । उनले १५ वर्षअघि विराटनगरको एउटा गजल रेष्टुरेन्टमा पहिलोपटक व्यवसायिक रूपमा स्वर प्रस्तुत गरेका थिए ।

अहिले विराटनगरको ह्यारिसन, बिग होटलजस्ता ठूला एवं तारे होटलहरुमा दैनिक प्रस्तुति दिन्छन् । ‘दिनभर अस्पतालको काममा व्यस्त हुन्छ । साँझतिर गीत गाउन तारे होटल पुग्छु,’ निर्मलले भने । मेला, महोत्सव, होटल तथा विभिन्न ‘स्टेज’हरुमा पनि गीत गाउने गरेका छन् । त्योबाहेक विराटनगरमा हुने ‘स्टेज’ कार्यक्रमहरुमा छुट्दैनन् । गीत गाएबापत थोरबहुत पारिश्रमिक पनि लिन्छन् ।

समय र परिस्थतिले गर्दा एउटा चर्चित गायक बन्ने उनको सपनामा ग्रहण लाग्यो । सपना र योजना अधुरै भए पनि प्रभावशाली गायक एवं संगीतकारहरुसँग उनको संगत छ । क्षमतामा उनीहरु भन्दा कम छैनन् । निर्मल भन्छन्, ‘अहिले आफू जे छु त्यसैमा पूर्ण सन्तुष्टिका साथ बाँचेको छु । दिउँसो अस्पतालको जागिर खान्छु । साँझमा आफ्नो सोखको काममा व्यस्त हुन्छु । यसमै मेरो जीवन खुसीका साथ चलिरहेको छ ।’

गजल रेष्टुरेन्टबाट व्यवसायिक गायन क्षेत्रमा लागेको निर्मलको भनाइ छ । ‘विराटनगरका ठूला होटलमा दैनिक प्रस्तुति दिन्छु । त्यसबाहेक समय–समयमा विराटनगरमा हुने ‘स्टेज’ कार्यक्रममा पनि प्रस्तुत हुने गरेको छु,’ उनले भने । निर्मलसँग नेपाली र हिन्दी दुवै भाषाका गीत गाउन सक्ने क्षमता छ ।

‘नेपालीमा आधुनिक र चलचित्रका साथै पप गीत पनि गाउने गर्छु । बढी आधुनिक गीत गाउन मन पर्छ,’ उनी भन्छन् । नेपालका चर्चित गायक नारायण गोपाल, अरुण थापा, रामकृष्ण ढकालका साथै हिन्दीमा किशोर कुमार, उद्धितनारायण, कुमार सानुजस्ता गायकको गीत गाउने गरेको उनले बताए ।

उनले गीत गाउन कहीँ कतैबाट तालिम लिएका छैनन् । संगीत सिकेका हैनन् । तर, आफै गीतका लयसँग भिज्न सक्ने क्षमता छ । ‘मैले गीत गाएको सुनेपछि प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्नु भयो । सँगै फोटो खिचाउनु भयो । त्यसपछि प्रत्येक पटक उहाँ होटलमा बस्न आउँदा मैले गीत गाएर सुनाउने गरेको छु,’ निर्मल भन्छन् ।

धेरै जनाले गीत गाएर पैसा कमाउँछ भन्ने गरे पनि त्यस्तो कमाइ भने नहुने गरेको उनले सुनाए । तर, आत्मासुन्तष्टि चाहिँ मिलेको छ । सबै गायकले कमाउँछन् भन्ने छैन । केही चर्चित गायकले कमाए पनि सबै गीतका एल्बम निकाल्नेले कमाएका छैनन् ।

‘गीतको भाका र संगीत राम्रो भए एउटै गीतले पनि गायक चर्चित हुन्छन् । एल्बम निकाल्न निक्कै कठिन छ । किनभने गीत राम्रो हुनु पर्छ,’ उनले भने, ‘अर्को कुरा गीत मात्रै भएर पुग्दैन । आर्थिक (पैसो)को स्रोत राम्रो हुुनुपर्छ । मसँग पैसा नभएकै कारण अगाडि बढ्न सकिन ।’

निर्मल युवा नेता मुकेश बुढाथोकीलगायतले आफूलाई गायन क्षेत्रमा सहयोग गरेको सुनाउँछन् । ‘धेरै जना दाजुहरु र शुभचिन्तकले साथ दिनु भएको छ । उहाँहरुको प्रेरणाले हौसला मिलेको छ । त्यहाँमाथि मैले गाएको गीतलाई स्रोत र दर्शकले पनि मन पराइदिनु हुन्छ,’ निर्मलले भने ।

गायक एवं संगीत प्रशिक्षक सुमन श्रेष्ठ गायन खुबी राम्रो भएको युवाका रूपमा निर्मललाई चिनाउँछन् । ‘उनी (निर्मल) गायनमा निपुण छन् । विभिन्न गायकहरुले गाएका गीत गराएर सुनाउँदा स्रोता र दर्शकलाई रिझाउन सक्छन्,’ श्रेष्ठले भने, ‘यस्तो क्षमता जोकोहीमा हुँदैन । आफ्नो प्रस्तुतिले स्रोता र दर्शकको मनलाई च्वास्स छुनसक्नु निर्मलको विशेषता हो ।’

उनी निर्मलसँग आधुनिक गीतलाई न्याय दिएर गाउने क्षमता रहेको बताउँछन् । ‘गायकी कला राम्रो छ । आधुनिक गीतहरुमा एकदमै राम्रो प्रस्तुति दिन्छन् । राम्रो भूमिका निर्वाह गर्न सक्छन्,’ श्रेष्ठले भने । लगनशीलता र मिहिनेतले गायन क्षेत्रमा निर्मलले आफूलाई निखार्न सकेको उनको बुझाइ छ ।

श्रेष्ठका अनुसार गीत गाउन भनेपछि निर्मल मरिहत्ते गर्छन् । दत्तचित्त भएर लाग्छन् । विशेष गरेर नयाँ र पुराना गीतहरुलाई न्याय दिएर गाउन सिपालु छन् । ‘गायनमा निर्मलको राम्रो दखल छ । आधुनिक गीतमा सुमधुर स्वर दिनसक्ने क्षमतावान युवा हुन्,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.