प्रधानमन्त्रीलाई गीत सुनाइरहने निर्मल : दिनभर कोशी अस्पताल, साँझमा तारे होटल

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन १०, शनिबार ११:१३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आएर बस्दा प्रायः ह्यारिसन होटल प्रयोग गर्छन् ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली गीत संगीत मन पराउने नेता हुन् । उनलाई मन पर्ने विधा धेरै छन् । तर, यहाँ गीत संगीतको चर्चा गर्न खोजिएको छ ।

विराटनगर आएर ह्यारिसन होटलमा बसेका बेला २ वर्षअघि उनलाई १ जना युवाले स्वरसम्राट् नारायण गोपालको गीत गाएर सुनाए । विराटनगर महानगरपालिका–३ का निर्मल शर्मा कट्टेलले नारायण गोपालको गीत गाइरहँदा ओली मन्त्रमुग्ध भए । निर्मलको गायकीलाई मन पराए ।

ओलीसँगै गीत सुन्नेमा पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत थिए । हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन भएका निर्मलको गायन कौशल सबैलाई मोहित पार्ने खालकै छ । ओली आएर विराटनगर बसेका बेला उनी गीत सुनाउन पुग्छन् ।

आफ्नो कुशलताले ओलीकै मन जित्न सफल भएका छन् । स्वरका धनी निर्मलसँग ओलीलाई पटकपटक गीत गाएर सुनाएको अनुभव छ । गायन प्रस्तुतिले ओलीको रोजाइमा पर्न सफल भएका उनी व्यावसायिक गायकहरु जत्तिकै अब्बल छन् ।

प्रधानमन्त्री ओली मात्रै हैन, गीत गाएको प्रत्यक्ष सुनेका र देखेकाहरुले उनको राम्रै प्रशंसा गर्छन् । निर्मलको गायन कलालाई सबैले मन पराउँछन् । त्यसले उनलाई हौसला मिलेको छ ।

‘मुलुककै प्रधानमन्त्रीलाई बारम्बार गीत सुनाउन पाउँदा गर्व महसुस नहुने कुरै भएन । मेरो गायन क्षमतालाई उहाँले मन पराइदिनु भएको छ,’ निर्मल भन्छन्, ‘प्रधानमन्त्री मात्रै हैन, प्रायः सबैले मनपराइदिनु हुन्छ । मेरो लागि त्यही ठूलो सम्पत्ति हो ।’ गीत गाउन उपयुक्त स्वर हुनुपर्छ । सार्वजनिक हिसाबले गाउनसक्ने क्षमता राख्नुपर्छ ।

गीत गाउँदा सबैको ध्यान खिच्न सक्नुपर्छ । त्यो सबै कुराबाट निर्मल परिपूर्ण छन् । गजब स्वर नभएको भए प्रधानमन्त्रीको रोजाइमा पर्ने नै थिएनन् । उनी विराटनगरमा प्रधानमन्त्री ओलीलगायतलाई गीत सुनाइरहनेमा पर्छन् ।

गलाले भरिपूर्ण निर्मलका आफ्नै गीतहरु त छैनन् । तर, अरु चर्चित गायकहरुले गाएका गीतलाई जस्ताको तस्तै गाउनसक्ने क्षमता राख्छन् । नेपाली आधुनिक गीतहरुमा दमदार प्रस्तुति दिन्छन् ।

सानामा विद्यालय जाँदाआउँदा गुनगुनाउने गर्थे । बाटोमा गुनगुनाएको सुनेर साथीभाइहरुले ‘तेरो स्वर एकदम राम्रो छ’ भन्दै गीत गराएर सुनाउन आग्रह गर्थे । गीत गाउँदै हिँड्दा विद्यालय जाने बाटो कटेको अहिले पनि याद आउने निर्मल बताउँछन् ।

‘गीत गाउँदै बाटो कटेको थाहै हुँदैन थियो । गाउनलाई सानैदेखि मन लाग्थ्यो । अरुले राम्रो गीत गाएको सुन्दा लोभ लाग्थ्यो । गायन क्षेत्रमा लाग्ने विचार थियो । तर, समय र परिस्थितिले गीत संगीतलाई पेसा बनाउन भने सकिएन,’ उनले भने । आफूले सोचेजस्तो हुन नसके पनि गायनलाई उनले आंशिक रूपमा अँगाल्दै आएका छन् ।

उनी स्कुलका कार्यक्रममा सधैं गीत गाउने गर्थे । विभिन्न ‘स्टेज’मा सानैदेखि प्रस्तुत हुन्थे । साथीभाइहरुसँग देउसी–भैलो खेल्न जाँदा भट्याउने जिम्मेवारी उनकै हुन्थ्यो । त्यसैलाई उनले अवसरको रूपमा सदुपयोग गरे । स्वरमा निखारपन दिन सफल भए ।

‘सोचेजस्तो सबै हुँदैन । सयम र परिस्थतिले गायन क्षेत्रमै पूर्णरुपमा प्रवेश गर्न सकिएन । तर, नियमित गीत गाउँछु,’ निर्मलले भने । अहिले निर्मल विराटनगरको कोशी अस्पतालमा कार्यरत छन् । दिनभर अस्पतालकै काममा व्यस्त हुन्छन् ।

जागिरमा व्यस्त हुँदा अरुतिर समय दिन भ्याउँदैनन् । तर, छुट्टी भइसकेपछि साँझपख विराटनगरका तारे होटलमा आफ्नो स्वर पस्कन पुग्छन् । गायन उनको सोख हो । गजल रेष्टुरेन्टबाट व्यवसायिक गायन क्षेत्रमा लागेको निर्मल बताउँछन् । उनले १५ वर्षअघि विराटनगरको एउटा गजल रेष्टुरेन्टमा पहिलोपटक व्यवसायिक रूपमा स्वर प्रस्तुत गरेका थिए ।

अहिले विराटनगरको ह्यारिसन, बिग होटलजस्ता ठूला एवं तारे होटलहरुमा दैनिक प्रस्तुति दिन्छन् । ‘दिनभर अस्पतालको काममा व्यस्त हुन्छ । साँझतिर गीत गाउन तारे होटल पुग्छु,’ निर्मलले भने । मेला, महोत्सव, होटल तथा विभिन्न ‘स्टेज’हरुमा पनि गीत गाउने गरेका छन् । त्योबाहेक विराटनगरमा हुने ‘स्टेज’ कार्यक्रमहरुमा छुट्दैनन् । गीत गाएबापत थोरबहुत पारिश्रमिक पनि लिन्छन् ।

समय र परिस्थतिले गर्दा एउटा चर्चित गायक बन्ने उनको सपनामा ग्रहण लाग्यो । सपना र योजना अधुरै भए पनि प्रभावशाली गायक एवं संगीतकारहरुसँग उनको संगत छ । क्षमतामा उनीहरु भन्दा कम छैनन् । निर्मल भन्छन्, ‘अहिले आफू जे छु त्यसैमा पूर्ण सन्तुष्टिका साथ बाँचेको छु । दिउँसो अस्पतालको जागिर खान्छु । साँझमा आफ्नो सोखको काममा व्यस्त हुन्छु । यसमै मेरो जीवन खुसीका साथ चलिरहेको छ ।’

गजल रेष्टुरेन्टबाट व्यवसायिक गायन क्षेत्रमा लागेको निर्मलको भनाइ छ । ‘विराटनगरका ठूला होटलमा दैनिक प्रस्तुति दिन्छु । त्यसबाहेक समय–समयमा विराटनगरमा हुने ‘स्टेज’ कार्यक्रममा पनि प्रस्तुत हुने गरेको छु,’ उनले भने । निर्मलसँग नेपाली र हिन्दी दुवै भाषाका गीत गाउन सक्ने क्षमता छ ।

‘नेपालीमा आधुनिक र चलचित्रका साथै पप गीत पनि गाउने गर्छु । बढी आधुनिक गीत गाउन मन पर्छ,’ उनी भन्छन् । नेपालका चर्चित गायक नारायण गोपाल, अरुण थापा, रामकृष्ण ढकालका साथै हिन्दीमा किशोर कुमार, उद्धितनारायण, कुमार सानुजस्ता गायकको गीत गाउने गरेको उनले बताए ।

उनले गीत गाउन कहीँ कतैबाट तालिम लिएका छैनन् । संगीत सिकेका हैनन् । तर, आफै गीतका लयसँग भिज्न सक्ने क्षमता छ । ‘मैले गीत गाएको सुनेपछि प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्नु भयो । सँगै फोटो खिचाउनु भयो । त्यसपछि प्रत्येक पटक उहाँ होटलमा बस्न आउँदा मैले गीत गाएर सुनाउने गरेको छु,’ निर्मल भन्छन् ।

धेरै जनाले गीत गाएर पैसा कमाउँछ भन्ने गरे पनि त्यस्तो कमाइ भने नहुने गरेको उनले सुनाए । तर, आत्मासुन्तष्टि चाहिँ मिलेको छ । सबै गायकले कमाउँछन् भन्ने छैन । केही चर्चित गायकले कमाए पनि सबै गीतका एल्बम निकाल्नेले कमाएका छैनन् ।

‘गीतको भाका र संगीत राम्रो भए एउटै गीतले पनि गायक चर्चित हुन्छन् । एल्बम निकाल्न निक्कै कठिन छ । किनभने गीत राम्रो हुनु पर्छ,’ उनले भने, ‘अर्को कुरा गीत मात्रै भएर पुग्दैन । आर्थिक (पैसो)को स्रोत राम्रो हुुनुपर्छ । मसँग पैसा नभएकै कारण अगाडि बढ्न सकिन ।’

निर्मल युवा नेता मुकेश बुढाथोकीलगायतले आफूलाई गायन क्षेत्रमा सहयोग गरेको सुनाउँछन् । ‘धेरै जना दाजुहरु र शुभचिन्तकले साथ दिनु भएको छ । उहाँहरुको प्रेरणाले हौसला मिलेको छ । त्यहाँमाथि मैले गाएको गीतलाई स्रोत र दर्शकले पनि मन पराइदिनु हुन्छ,’ निर्मलले भने ।

गायक एवं संगीत प्रशिक्षक सुमन श्रेष्ठ गायन खुबी राम्रो भएको युवाका रूपमा निर्मललाई चिनाउँछन् । ‘उनी (निर्मल) गायनमा निपुण छन् । विभिन्न गायकहरुले गाएका गीत गराएर सुनाउँदा स्रोता र दर्शकलाई रिझाउन सक्छन्,’ श्रेष्ठले भने, ‘यस्तो क्षमता जोकोहीमा हुँदैन । आफ्नो प्रस्तुतिले स्रोता र दर्शकको मनलाई च्वास्स छुनसक्नु निर्मलको विशेषता हो ।’

उनी निर्मलसँग आधुनिक गीतलाई न्याय दिएर गाउने क्षमता रहेको बताउँछन् । ‘गायकी कला राम्रो छ । आधुनिक गीतहरुमा एकदमै राम्रो प्रस्तुति दिन्छन् । राम्रो भूमिका निर्वाह गर्न सक्छन्,’ श्रेष्ठले भने । लगनशीलता र मिहिनेतले गायन क्षेत्रमा निर्मलले आफूलाई निखार्न सकेको उनको बुझाइ छ ।

श्रेष्ठका अनुसार गीत गाउन भनेपछि निर्मल मरिहत्ते गर्छन् । दत्तचित्त भएर लाग्छन् । विशेष गरेर नयाँ र पुराना गीतहरुलाई न्याय दिएर गाउन सिपालु छन् । ‘गायनमा निर्मलको राम्रो दखल छ । आधुनिक गीतमा सुमधुर स्वर दिनसक्ने क्षमतावान युवा हुन्,’ उनले भने ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×