
प्यूठान । हत्या गरिएको बीभत्स अवस्थामा आफ्नै घरभित्र दम्पतीको शव फेला परेको छ ।
प्यूठानको माण्डवी गाउँपालिका–२ रातमाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या भएको हो । उनीहरु शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका दिए ।
घटनास्थलनजिक रगत लतपतिएको घन भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट घन प्रहार गरेर दम्पतीको हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको छ ।
प्यूठानका प्रहरी प्रमुख डीएसपी दिपेश बस्यालका अनुसार हत्यामा प्रयोग भएको घन घटनास्थलदेखि करिब ५० मिटर पूर्वतर्फ रगत लागेको अवस्थामा भेटिएको छ । घरभित्र वृद्धवृद्धा मृत अवस्थामा फेला परेको जानकारी छिमेकीले प्रहरीलाई दिएका थिए ।
मृत फेला परेका उनीहरुको शरीर र टाउकोमा चोट देखिएको छ । भैरहवाबाट लगिएको तालिमप्राप्त कुकुरको प्रयोग गरी प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको डीएसपी बस्यालले बताए । उनका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छैन । घरमा रामबहादुर र उनकी पत्नी मात्रै बस्दै आएका थिए ।
छोराहरु ४ जना नै भारतमा छन् । छोरीहरु २ जना बिहे गरेर गइसकेका छन् । हत्यामा संलग्नको पहिचानको प्रयास भइरहेको र घटनाको अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी बस्यालले बताए ।

























