साहित्यकार झमककुमारी घिमिरेलाई घरमै ‘अवार्ड’

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार ०७:०९

धनकुटा । मदन पुरस्कार विजेता, साहित्यकार झमककुमारी घिमिरेलाई घरमै पुगेर ‘अवार्ड’ प्रदान गरिएको छ ।

प्रतिभावान् साहित्यकार उनलाई ‘कोशी एक्सिलेन्स अवार्ड, २०८१’अन्तर्गत साहित्य विधाको ‘अवार्ड’ घरमै पुगेर हस्तान्तरण गरिएको हो । फागुन ७ गते इटहरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त ‘अवार्ड’ प्रदान गर्ने कार्यक्रम तय भएको थियो ।

तर, साहित्यकार घिमिरे स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सकिनन् । उनको ‘अवार्ड’ शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गरेका थिए । आइतबार भने धनकुटास्थित घरमै पुगेर झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत ‘अवार्ड’ हस्तान्तरण गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

‘अवार्ड’ हस्तानतरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्ले, प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरेलगायतको उपस्थिति थियो । प्रतिमस्तिष्क रोगद्वारा पीडित घिमिरेको जन्म २०३७ साल असार २१ गते धनकुटाको कचिडेमा भएको थियो ।

गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी घिमिरेको बाल्यकाल कष्टकर रूपमा बितेको थियो । तर, उनलाई साहित्यले नै उनको सफलताको बाटो कोर्यो ।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कारसमेत पाएकी छन् । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘संकल्प’ कविता संग्रह प्रकाशित गरिन् ।

त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता संग्रह प्रकाशित गरिन् । उनका एउटा क्वाँटी (विभिन्न विधा) संग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख संग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा संग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध संग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित छन् ।

प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको थियो । जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई विशेष समारोहबीच ‘अवार्ड’ प्रदान गरिएको अध्यक्ष अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.