
विराटनगर । मोरङको उर्लाबारी घर भएका १ जना पुरुष आज (सोमबार) बिहान छिमेकीको घरमा मृत फेला परेका छन् ।
उर्लाबारी नगरपालिका–९ का ४९ वर्षीय नरेन्द्र लावती लिम्बू मृत फेला परेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार लिम्बू छिमेकी डिगबहादुर खड्काको घरमा मृत भेटिएका हुन् ।
लिम्बूको देखि खड्काको घर करिब १ सय ५० मिटर दक्षिणमा पर्छ । खड्काको घरको प्यासेजमा लिम्बू मृत अवस्थामा भेटिएको जानकारी प्रहरीले बिहान ६ः३० बजेतिर पाएको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाएको छ । लिम्बूको मृत्युको कारण खुल्न सकिरहेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । स्थानीले भने आइतबार राति मापसे (मादक पदार्थ सेवन) गरेर लिम्बू सुतेको बताएका छन् ।

























