
संखुवासभा । सुक्खा पहिरो खसेपछि संखुवासभाको उत्तरी भोटखोला क्षेत्र जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडक अवरुद्ध बनेको छ ।
सडकमा सुक्खा पहिरो खसेसँगै आज (सोमबार) बिहानबाट सवारी आवागमन प्रभावित बनेको छ । पहिरोले सडक पुरेपछि यातायातका साधन चल्न सकेका छैनन् । भोटखोलाको हटिया र हुङगुङबीचमा पहिरो झरेर सडक अवरुद्ध भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।
उनका अनुसार पहिरोसँगै सडकमा ठुल्ठूला ढुंगा खसेका छन् । पहिरो नपन्छाएसम्म सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको जानकारी भोटेले दिए ।
पहिरो खसेको स्थान सदरमुकाम खाँदबारीबाट १ सय ९ किलोमिटरको दुरीमा छ । सडक अवरुद्ध भएपछि भोटखोलाबाट खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।

























