
काठमाडौं । महाशिवरात्रिका दिन आज (बुधबार) देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

























