
इलाम । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार आगलागीबाट उद्योगका मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यस चिया उद्योगका सञ्चालक शरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए ।
यस उद्योगबाट ‘स्पेसल टी’ उत्पादन हुँदै आएको थियो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो ।
उक्त चिया युरोपका विभिन्न मुलुकमा निर्यात भइरहेको बताइन्छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

























