
म्याग्दी । दर्शनार्थी बोकेको भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइँठेभीरमा बुधबार दिउँसो दुर्घटना भएको हो । सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इको भ्यान सडकबाट कालीगण्डकी नदीको किनार (करिब १५० मिटर तल)मा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा भ्यान चालक अन्नपूर्ण गाउँपालिका–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको छ । ५० वर्षीया रूपा पुन, ४२ वर्षीया नमिता चोचाङ्गी र ५२ वर्षीया विष्णकुमारी बुढाथोकी गम्भीर घाइते भएका छन् । पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नारच्याङको शिव मन्दिर जाने यात्रु (दर्शनाथी)हरू चढेको भ्यान दुर्घटनामा परेको प्रहरीको भनाइ छ । प्रहरीले दुर्घटनाको कारण खुलाएको छैन । थप अनुसन्धान भइरहेको छ ।

























