पशुपतिनाथमा महाशिवरात्रि : ४ प्रहर, ४ पूजा

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार ०६:२६

काठमाडौं । महाशिवरात्रिको रात पशुपतिनाथ मन्दिरमा ४ प्रहरमा ४ पूजा सम्पन्न गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार प्रत्येक वर्ष ४ प्रहरमा पूजाका ४ विधि सम्पन्न गर्ने गरिन्छ । कोषाका सदस्यसचिव डा. मिलनकुमार थापाले बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज (बिहीबार) बिहान ६ बजेसम्म सञ्चालन भएको जानकारी दिए।

सांस्कृतिक पर्वका रूपमा रहेको महाशिवरात्रिमा ४ प्रहरमा ४ प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो । बुधबार बेलुकी करिब ६ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिएको थियो भने लगत्तै दोस्रो प्रहर पूजा सुरु भएर करिब पौने १२ बजे सकिएको थियो ।

दोस्रो प्रहर सकिएपछि तेस्रो प्रहर पूजा सुरु भयो । बिहीबार बिहान पौने ३ बजे सम्पन्न भयो । त्यसपछि चौथो प्रहर पूजा सुरु भएर बिहान ६ बजे सकिएको डा. थापाले बताए ।

जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ । महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक ४ प्रहर पूजा गरिएको थियो ।

प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गंगाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि गर्ने परम्परा छ ।

महाशिवरात्रिका अवसरमा बुधबार दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा पनि लाखौँ भक्तजनको उपस्थिति रहेको थियो । शिव भक्तहरुले विभिन्न ठाउँका शिवालयमा गएर पूजापाठ गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.