कोशीका सांसदको जोड : वार्तामार्फत समस्या समाधान गरौं, केबलकार निर्माणको वातावरण बनाऔं

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार १९:०५

विराटनगर । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको वातावरण बनाउनुपर्ने माग सांसदहरुले गरेका छन् ।

कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरुले बिहीबार गृहमन्त्री रमेश लेखकसँगको छलफलमा केबलकार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले वार्तामार्फत समस्या समाधान गरेर केबलकार निर्माणको वातावरण बनाउनुपर्ने सुझाव दिए ।

सांसदहरूले विकास निर्माण गर्दा सबै पक्षको सहमति लिन आवश्यक भएकाले आन्दोलनरत पक्षलाई मनाएर केबलकार निर्माणको वातावरण तयार पार्नुपर्ने सुझाव सरकारलाई दिएका हुन् । पाथीभरा क्षेत्रमा केबलकार निर्माण सुरु भएपछि त्यसको विरोधमा ‘नो केबलकार’ समूहले आन्दोलन गरिरहेको छ ।

पछिल्लो समय आन्दोलन अराजकतातिर मोडिन थालेको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि गृहमन्त्री लेखकले कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा सांसद भीमप्रसाद आचार्यले वार्तामार्फत आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर केबलकार निर्माण गर्न आवश्यक रहेको धारणा राखे ।

‘सांस्कृतिक सम्पदामा अतिक्रमण हुने देखिएमा निर्माणस्थल वरपर पारेर भए पनि केबलकार निर्माण गरिनु पर्छ,’ उनले भने, ‘यसका लागि वार्ता र संवादमार्फत समस्याको समाधान खोज्नुपर्छ ।’ गृहमन्त्रीसँगको छलफलमा १८ जना सांसद उपस्थित थिए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लगानीको वातावरण बिग्रन दिन नहुने बताए । सबै पक्षसँग छलफल गरेर काम अगाडि बढाउनु पर्ने सुझाव उनले दिएका छन् । केबलकार निर्माण कुनै नयाँ काम नभएको र सरकारले गरेको निर्णयको निरन्तरता मात्रै भएको खतिवडाले बताए ।

‘सरकारमा हुँदा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने गरेका कारण पनि समस्या भएको हो । विकास निर्माणका विषयमा राजनीति गर्न हुँदैन । माओवादी सरकारमा हुँदा केबलकार निर्माण गर्ने कुरामा सहमति भएको हो । यसअघि आफू सरकारमा हुँदा के के निर्णय भएको थियो, त्यो पनि हेरौँ विरोधका लागि विरोध नगरौँ । वार्ता टोली गठन भएकाले यसलाई राजनीतिकरण गर्न आवश्यक छैन,’ उनले भने ।

अधिकांश सांसदहरुले आन्दोलनरत पक्षको मागको सुनुवाइ गर्न सुझाव दिएका छन् । मागको सुनुवाइ नगरिकन केबलकार निर्माण अघि बढाउन नहुने उनीहरुले बताए । विकास निर्माण आवश्यक भए पनि त्यसलाई अघि बढाउने क्रममा दमनको नीति लिन नहुने सुझाव सांसदहरुले दिएका छन् ।

गृहमन्त्री लेखकले यसअघि पनि कोशीका ४ जिल्लाका संसादसँग छलफल गरेका थिए । केबलकार विरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि अहिले निर्माणको काम रोकिएको छ । आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा समिति बनाएको थियो । यसअघि भट्टराई नेतृत्वको समिति र आन्दोलनरत पक्षबीच वार्ता पनि भयो ।

तर, वार्ता निष्कर्षमा पुग्न सकेन । आन्दोलनरत पक्षबाट मन्त्रीस्तरीय वार्ता समितिको माग भएको छ । सरकारले अर्को वार्ता समिति बनाएको छैन । भट्टराई नेतृत्वको समितिले पुनः वार्तामा बस्न आग्रह गरे पनि आन्दोलनरत पक्षले अस्वीकार गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.