
विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट बिहीबार १ जना वृद्धको मृत्यु भएको छ ।
हात्तीले आक्रमण गर्दा हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो घरदेखि करिब ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएका बेला भट्टराईलाई जंगली हात्तीले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनी बिहान १० बजेतिर घाँस काट्नलाई जंगल गएका थिए । भट्टराईको शव अपरान्ह ४ः४० बजेतिर जंगलमा फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा हात्तीले आक्रमण गरेर मृत्यु भएको यकिन हुने प्रहरीको भनाइ छ । उक्त क्षेत्रमा केही समययता जंगली हात्तीको चहलपहल बढेको छ ।
घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























