
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान साधारणयतादेखि अधिकांश बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज दिउँसे अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहने पूर्वानुमान गरिएको छ। कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान एवं गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा राति चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानको दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने सम्भावना छ ।

























