
विराटनगर । भूकम्पले संखुवासभा र भोजपुरका २ घरमा क्षति पुगेको छ । घरहरु चर्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकाका ३८ वर्षीय फुर्पु नावाको घरमा आंशिक क्षति पुगेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बताए । उनका अनुसार नावाको ढुंगाको गाह्रो र टिनको छानो भएको २ तले घरको पूर्व साइडको भाग भासिएको छ ।
घरको साइड भासिदा पर्खाल चर्किएर आंशिक क्षति भएको जानकारी अधिकारीले दिए । घर चर्किए पनि मानिस बसोबास गर्न मिल्ने अवस्थामा घर रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै, भोजपुरको षडानन्द नगरपालिका–१३ पातलका ६४ वर्षीय सन्तबहादुर तामाङको घरमा पनि भूकम्पले क्षति पुर्याएको छ । ढुंगा र माटो प्रयोग गरी टिनको छानो लगाएर बनाएको २ तले घरको गाह्रो चर्किएको डीआईजी अधिकारीले बताए ।
उनका अनुसार घरसँगै रहेको ढुंगाको माटोले बनेको ग्वाली घरसमेत चर्किएको छ । मानवीय र चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ ।
‘भूकम्पले संखुवासभा र भोजपुरका १–१ वटा घरमा क्षति पुगेको छ । अन्त क्षति भएको कुनै जानकारी छैन,’ डीआईजी अधिकारीले भने, ‘यद्यपि, भूकम्पले अन्त कतै क्षति गरेको छ कि भनेर बुझ्नलाई प्रहरी परिचालन गरिएको छ । पहाडका २ घर चर्किए पनि तराईमा भने भूकम्पले क्षति गरेको विवरण प्राप्त भएको छैन ।’
भूकम्पले पुर्याएको क्षति यकिन गर्न स्थानीय तह र जनप्रतिनिसँग पनि समन्वय भइरहेको उनले बताए । कोशी प्रदेशमा १४ वटा जिल्ला छन् । सबैतिर सम्पर्क स्थापित गर्दा भूकम्पले जनधनको ठूलो क्षति नभएको पाइएको डीआईजी अधिकारीको भनाइ छ ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज (शुक्रबार) बिहानका राति २ः५१ बजेतिर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का देशभर महसुस भएको थियो । तर, ठूलो क्षति भने भएको छैन ।

























