
विराटनगर । नेपाल विद्युत प्राधिकरणले पछिल्लो ६ महिनाको अवधिमका ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ ।
यो नाफा चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो ६ महिनामा प्राधिकरणले कमाएको हो । विद्युत बिक्री, ब्याज तथा अन्यबाट कूल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी भएकोमा विद्युत खरिद, प्रशासनिक र विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण आर्थिक वर्ष २०७२–०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा थियो । त्यसयता निरन्तर नाफामा छ । आर्थिक वर्ष २०८०–०८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड नाफा कमाएको थियो ।
आफूले कमाएको नाफालाई प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवं सुदृढीकरण र विद्युतीकरण तर्फका आयोजनामा लगानी गरिरहेको छ ।



















