
काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औं उच्चस्तरीय सत्रमा भाग लिएर परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार स्वदेश फर्किएकी छन् ।
मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । त्यहाँ उनले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औं उच्चस्तरीय सत्रमा भाग लिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राणाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्था अझैसम्म अज्ञात रहेको बताइन् । उनले जोशीको अवस्थाका बारेमा यथार्थ जानकारी प्राप्त हुन नसकेको बताइन् ।
यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल भइरहेको उनको भनाइ छ । हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको राणाले बताइन् ।
जोशीको रिहाइका लागि अधिकतम् कूटनीतिक पहल गरिएको जानकारी उनले दिइन् । उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको बताइन्।
मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिबद्धताका विषयमा जानकारी गराइएको उनको भनाइ छ । राणाले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको उल्लेख गरिन् ।

























