
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणधीन केबलकारको विरोध गर्ने समूहलाई वार्तामा आउन आह्वान गरेका छन् ।
लेखकले ‘नो केबलकार’ पक्षलाई समस्या समाधानका लागि वार्ता आउन आह्वान गरेका हुन् । राष्ट्रियसभा बैठकमा आइतबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार’ समूहको मागप्रति सरकार गम्भीर रहेको उल्लेख गरे ।
उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गरिने बताए । ‘केबलकार निर्माणलाई लिएर उत्पन्न समस्या समाधानका लागि सरकार गम्भीर छ । वार्ता आउन आह्वान गर्छु,’ उनले भने ।
गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार लागिरहेको बताए । उनले कुनै पनि समस्याको समाधान वार्ता र संवादमार्फत मात्रै सम्भव रहेको उल्लेख गरे ।
त्यस्तै, लेखकले केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको जानकारी दिए । केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको उनको भनाइ छ ।
‘पहिलेकै निर्णय अनुसार काम अघि बढेको हो । निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० साल माघ २ गते भएको हो । उक्त निर्णय तत्कालीन गृहमन्त्रीस्तरबाट भएको थियो,’ लेखकले भने ।
केबलकारको विवाद समाधान गर्न सरकारले पहलकदमी लिइरहेको उल्लेख गर्दै उनले वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधान गर्न सरकारले चाहेको जानकारी दिए । वार्ताका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा २०८१ साल माघ २० गते वार्ता टोली गठन गरिएको थियो ।
सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित वार्ता टोलीसँग ‘नो केबलकार’ पक्षधरको वार्ता पनि भयो । तर, वार्ता निष्कर्षमा पुगेन । आन्दोलन जारी छ । आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ताको टोलीको माग गरिरहेको छ ।
वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको र पटकपटक संवाद पनि भएको जानकारी गृहमन्त्री लेखकले दिए । पछिल्लो समयमा वार्तामा केही अवरोध आएका कारण वार्ता समितिले आन्दोलनरत पक्षलाई वार्ताका लागि यही फागुन १२ गते पुनः आह्वान गरेको उनको भनाइ छ ।
आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको लेखकले बताए । शान्तिपूर्ण ढंगले समस्या समाधान गर्ने पक्षमा सरकार रहेको लेखकको भनाइ छ । केबलकार निर्माण क्षेत्रमा उच्च सतर्कता अपनाएर शान्ति सुरक्षा प्रदान गरिरहेको पनि उनले बताए ।
‘म आन्दोलनरत पक्षका साथीहरूलाई खास गरेर स्थानीय मानिसहरूका के कस्ता चासोहरू, सरोकारहरू छन् तिनलाई वार्तामा बसेर शान्तिपूर्ण ढंगले सम्बोधन गरी समस्याको समाधान गर्न यसै सदनमार्फत अपिल गर्न चाहन्छु,’ लेखकले भने ।

























