
विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी भइरहेको छ । अहिले केही बेरअघिदेखि आगलागी सुरु भएको हो ।
लिखुपिके–३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घर भाडामा लिएर गाउँपालिकाले प्राविधिक र स्टोर शाखा सञ्चालन गरेको थियो । ढुंगा माटो प्रयोग गरेर र टिनको छानो लगाएर बनाइएको २ तले घरमा आइतबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त घर भाडामा लिएर प्रधानमन्त्री रोजगार शाखाको कार्यालयसमेत सञ्चालन गरिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
आगलागीको जानकारी प्राप्त हुनसाथ नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयको सहयोगमा प्रहरीले आगो निभाउने प्रयास गरे पनि सम्भव भइरहेको छैन । वरपर रहेका घरहरु समेत आगोको उच्च जोखिममा परेका छन् ।
आगो नियन्त्रणमा लिने र वरपरका घरहरु जोगाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थल प्रहरी चौकी चौंरीखर्कबाट करिब ५ सय मिटर उत्तरमा पर्छ ।

























