स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार ०६:४६

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आगामी चैत ५ गते हुने निर्वाचनमा २५ वटा विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनका लागि सोमबार विद्यार्थी संगठन दर्ताको समय तोकिएको थियो । उक्त समयमा २५ वटा विद्यार्थी संगठन दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालयका ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भइसकेको छ ।

निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौं) र विद्यार्थी जनमत संघ दर्ता भएका छन् ।

त्यस्तै, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च दर्ता भएका छन् ।

२०७९ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा १९ विद्यार्थी संगठनले भाग लिएका थिए । आगामी निर्वाचनका लागि केही विद्यार्थी संगठनले अध्यक्षलगायतका उम्मेदवार घोषणा तथा सार्वजनिक गरिसकेका छन् ।

स्ववियु निर्वाचनका लागि फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने छ । चुनाव हुने सबै क्याम्पसमा फागुन २७ गतेका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन दर्ता बिहान ११ देखि दिउँसो २ बजेसम्ममा गरिसक्नुपर्ने छ । उम्मेदवारका लागि २८ वर्षको उमेर हद तोकिएको छ ।

निर्वाचनको दिन चैत ५ गते मतदान गर्ने समय बिहान ८ देखि अपरान्ह ४ बजेसम्मलाई तोकिएको छ । आंगिकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्नेछन् । निर्वाचित पदाधिकारीको कार्यकार २ वर्षको हुने छ ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने छन् । निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले आचारसंहितासमेत जारी गरिसकेको छ ।

सरकारी पारिश्रमिक लिने व्यक्ति वा संस्थाले निर्वाचनसम्बन्धी गतिविधि गर्न पाउने छैनन् भने क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तुल फ्लेक्स तथा पोस्टर टाँस्न रोक लगाइएको छ । घोषणापत्र र उम्मेदवारको नामवली पर्चा भने एकै रङ र साइजको कागजमा हुनुपर्ने छ ।

निर्वाचनको पर्यवेक्षणका लागि प्रत्येक जिल्लामा नेपाल बार एसोसिएसन, मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेको पर्यवेक्षण समिति रहने छ । यस पटकदेखि निर्वाचन पर्यवेक्षणको समेत व्यवस्था मिलाइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.