एउटै डोरीमा झुन्डिएका युवा–युवती : विवाहोत्तर सम्बन्धले लियो ज्यान

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार २०:०८

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका युवा–युवती विवाहोत्तर (विवाहपछिको) सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा मंगलबार मृत फेला परेका थिए । घाँटीमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनी मृत भेटिएका हुन् ।

एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको देखेपछि बिहान १०ः३० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं घटनास्थल पुगेका थिए ।

प्रहरीका अनुसार दुवै जना विवाहोत्तर सम्बन्धमा रहेको र त्यही सम्बन्ध ज्यान लिनेसम्मको घटनामा परिणत भएको खुलेको छ । घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ । उनी हराएको भनेर परिवारका सदस्यले केही समयअघि गौरीगन्जस्थित प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरीले जनाएको छ ।

दुवै जनाका आफन्त र परिवारका सदस्य घटनास्थल आइपुगेपछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ । मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका दुई जना छोरा रहेको डीएसपी दाहालले बताए । जुबामुनीका डेढ वर्षका छोरा रहेको उनको भनाइ छ ।

दाहालका अनुसार अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ । अजयको घरमा खाना खाएपछि दुवै जना बाहिरि गएका थिए । मंगलबार पनि घटनास्थल वरपर डुल्दै गरेको स्थानीय देखेका थिए । दुवै जना बसेर गफ गर्दै गरेको देखेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार दुवै जनाबीच निक्कै पहिलेदेखि सम्पर्क र सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको छ । डीएसपी दाहालका अनुसार दुवै जना विवाहोत्तर सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पारिवारिक तनाव र दबाबका कारण प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ ।

घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिने दाहालले बताए । उनका अनुसार घटनास्थल मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाइसकिएको छ । थप विषय अनुसन्धानपछि पत्ता लाग्ने जानकारी दाहालले दिए । उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।

मोरङको पथरीशनिश्चरेमा विवाहित युवा–युवती झुन्डिएको अवस्थामा मृत फेला

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.