
काठमाडौं । अमेरिकामा अवैध आप्रवासी ठहर भएर देशनिकाला गरेका ८ नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडिएको छ ।
विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार बिहान ९ः५३ बजे आइपुगेको थियो । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार अवतरणको हकमा जम्मा १४ जनाका लागि अनुमति लिए पनि ८ जना मात्रै लिएर विमान आएको छ । तीमध्ये एक महिला र ७ जना पुरुष छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बसोबासका लागि वैधानिक कागजपत्र नभएका आप्रवासीलाई देश फिर्ता गर्ने गरी कार्यकारी आदेश जारी गरेपछि यसअघि पनि केही नेपालीहरू निकालामा परेका थिए ।
अमेरिकाको सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म ३८९ नेपाली देशनिकालामा परेका छन् ।
विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराईका अनुसार प्रक्रिया पुर्याएर ती नेपालीहरूलाई घर जान दिइने छ । ‘अध्यागमनका सामान्य प्रक्रियाहरू जेजे हुन्छन् ती सबै हामीले पूरा गर्याै । प्रहरीले सोधपुछ गर्नुपर्ने भनेपछि हामीले उहाँहरूलाई जिम्मा लगायौं’ उनले भने ।
अमेरिकाबाट नेपालीहरूलाई कुन अवस्थामा फर्काइएको हो भन्ने कुरा पनि खुल्न सकेको छैन । विभिन्न विवरणहरूमा जनाइएअनुसार यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए ।
हालै अमेरिकाबाट भारत फर्काइएका अवैध भारतीय आप्रवासीहरूलाई हत्कडी लगाएर पठाइएकोमा त्यहाँको संसद्मा समेत आवाज उठेको थियो ।
अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना १०० जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन् ।
गत वर्ष नोभेम्बरसम्मको तथ्यांक अनुसार डिपोर्ट भएर स्वदेश फर्काइएका नेपाली नागरिकको संख्या झन्डै एक हजार २०० थियो ।
अमेरिकामा बसोबास गर्दै आएका अप्रमाणित नेपाली आप्रवासीको संख्या भने स्पष्ट छैन । ट्रम्पको पहिलो चारवर्षे कार्यकालमा झन्डै १५ लाख जनालाई अमेरिकाबाट देशनिकाला गरिएको थियो ।























