
काठमाडौं । मुलुकका ४ वटा प्रदेशमा आज (शनिबार) बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशको पहाडी भू–भागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

























