
काठमाडौं । ११५ औँ अन्तर्राष्ट्रिय नारी (महिला) दिवस आज (शनिबार) परेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि भनिने यो दिवस प्रत्येक वर्ष मार्च ८ मा मनाउने गरिन्छ ।
‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । दिवसको अवसरमा सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउँदै छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन्।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैंगिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्य दिवसको छ ।
महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवं उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि दिवसको रहेको छ। नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ।
संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ।
संघीय संसदमा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र स्थानीय तहमा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन्। यसैगरी, निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ।
समाजमा रहेका खराब अभ्यास एवं प्रथाका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहेको सरोकारवाला बताउँछन् । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक रहेको उनीहरुको भनाइ छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो।
सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको विभिन्न सञ्चारमाध्यममा उल्लेख छ।
महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष सुरु गरेको दिनको स्मरणमा दिवस मनाउने गरिन्छ । मार्च ८ लाई महिला हक अधिकारको माग गर्दै महिला अधिकारको संघर्षको दिनका रूपमा लिने गरिन्छ ।























