
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा शुक्रबार सहकर्मीसँग १ पल ‘टी विथ टिम’ कार्यक्रम आयोजना गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई नृत्य, कविता तथा हाजिरजवाफ प्रतियोगितामा सहभागी गराइएको थियो ।
कार्यक्रमको अवसरमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत कार्यालय सहयोगी शिवकुमार राईको जीवनीमा आधारित ‘भिडियो क्लिप’समेत प्रदर्शन गरिएको थियो । डीआईजी अधिकारीले व्यस्त व्यावसायिक जीवनशैली तथा कार्यबोझका कारण प्रहरी कर्मचारीबीचमा कायम हुनु पर्ने आपसी भातृत्व, शिष्टचार र सद्भावपूर्ण वातावरण अपेक्षाकृत रुपमा सुदृढ गर्न, प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा सामूहिक भावनाको विकासलगायत तनाव व्यवस्थापनका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए ।
प्रहरीभित्र यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाइ छ । प्रहरी कर्मचारीको प्रतिभालाई प्रस्फुटन गर्न र आपसी भावना साटासाट गर्न यस्ता कार्यक्रमले मद्दत पुग्ने अधिकारी बताउँछन् ।
यसैबीच, प्रदेश प्रहरी कार्यालयले स्टुडियोको स्थापना गरी आफ्नै जनशक्तिबाट ‘प्रहरी कार्यक्रम’ निर्माण गरी नेपाल टेलिभिजन इटहरीलगायत स्थानीय टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण गर्दै आएको छ । शुक्रबारसम्ममा सय भाग प्रसारण भइसकेको छ ।
डीआईजी अधिकारीले उत्कृष्ट प्रहरी कार्यक्रमका माध्यमबाट आमनागरिकमा सचेतना अभिवृद्धि गर्नका लागि लगनशील र इमान्दारितापूर्वक अघि बढ्न निर्देशन दिएका छन् । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी गोविन्द अधिकारी, एसपी दीपक पोखरेल, डीएसपी हरि डंगोलगायतका अधिकृत र प्रहरी कर्मचारीहरु उपस्थित थिए ।
सहकर्मीसँग १ पल ‘टी विथ टिम’अन्तर्गत आयोजित हाजिरजवाफ प्रतियोगितामा सही जवाफ दिने प्रहरी कर्मचारी तथा २४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना महिला प्रहरी कर्मचारी एवं प्रहरी कार्यक्रमको १ सय भागको अवसरमा सूचना समन्वय शाखामा कार्यरत प्रहरीलाई डीआईजी अधिकारीले पुरस्कृतसमेत गरेका छन् ।

























