
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा १ वर्षको अवधिमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
कार्यकाल पूरा नहुँदै र कार्यभार सम्हालेको छोटो अवधिमै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहेका छन् । खाँदबारीले २०८१ सालमा ५ जना प्रमुख प्रशासकीय पाउने भएको छ । निर्माणकुमार कार्की, दीपकमणि घिमिरे, रामदत भट्ट र भक्तबहादुर खड्काले प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हालिसकेका छन् ।
अब नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने तयारी छन् । गत भदौ ५ गते आएका प्रमुख प्रशासकीय अधिकृत भट्ट कात्तिक १२ सम्म मात्रै खाँदबादरी बसे । पछिल्लो पटक २०८१ मंसिर ९ गते आएका प्रमुख प्रशासकीय अधिकृत खड्का फागुन ६ सम्म मात्रै खाँदबारीमा रहे । उनको ललितपुर सरुवा भएको छ ।
खाँदबारीमा लामो समय प्रमुख प्रशासकीय अधिकृत नटिक्ने पुरानै रोग हो । प्रमुख प्रशासकीयको अरनखटन संघीय सरकारले गर्छ । संघीय सरकारले पठाउने प्रशासकीय अधिकृतले पालिकामा एक्लो महसुस गर्ने गरेको कर्मचारीहरु बताउँछन् । पालिकामा वर्षौंदेखि जरा गाडेर बसेका कर्मचारीहरु छन् ।
उनीहरुसँग समन्वय गरेर काम गर्न प्रमुख प्रशासकीयले सकिरहेका छैनन् । ‘पुराना कर्मचारीले १ खालको ‘सिण्डिकेट’ चलाएका हुँदा रहेछन् । उनीहरुसँग मिलेर काम गर्नै सकिँदैन,’ १ जना पूर्वप्रमुख प्रशासकीयले भने ।
स्थानीय तहका जनप्रतिनिधिले पनि पुरानै कर्मचारीको कुरा सुन्छन् । पुराना कर्मचारीले नकारात्मक कुरा लगाइदिने गरेका कारण प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधि प्रमुख प्रशासकीयलाई त्यति विश्वास गर्दैनन् । पुरानै कर्मचारीले साथ लिएर अघि बढ्न खोज्छन् ।
जनप्रतिनिधि र पुराना कर्मचारीको हालिमुहाली तथा असहयोगका कारण प्रमुख प्रशासकीय लामो अवधि नटिक्ने गरेका हुन् । पुराना कर्मचारीसँगको असमझदारी, राजनीतिक टकराव तथा जनप्रतिनिधिको असहयोग नै प्रमुख प्रशासकीय नटिक्नुको प्रमुख कारणहरु हुन् ।
आफूअनुकूल काम नगरिदिए जनप्रतिनिधि नै प्रमुख प्रशासकीयको सरुवा गर्न लागिपर्छन् । अनआवश्यक दबाबका कारण प्रमुख प्रशासकीयले पनि खाँदबारीमा बस्न रुचाउँदैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सम्झौता र भुक्तानीमा समस्या हुने गरेको छ ।
सरुवा भएपछि तत्काल अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा मेयर र कर्मचारी प्रमुख प्रशासकीय अधिकृत माग्दै मन्त्रालय धाउनुपर्ने बाध्यता छ । अर्कोतर्फ जनप्रतिनिधिले आफूअनुकूलका प्रमुख प्रशासकीय ल्याउन जोडबल गर्ने गरेका छन् ।
निमित्तको भरमा नगरपालिका
खाँदबारी नगरपालिका फागुन ६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । त्यसयता निमित्तको भरमा चलिरहेको छ । तर, शुक्रबार निमित्त पनि थिएनन् ।
२०८१ मंसिर ९ गते खाँदबारी नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काको फागुन ६ गते सरुवा भयो । उनले स्वास्थ्य शाखा प्रमुख दिलिप श्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिए ।
निमित्त प्रमुख प्रशासकीय श्रेष्ठ पनि शुक्रबार स्वास्थ्यको तालिमका लागि चैनपुर गए । छैटौं अधिकृत राजकुमार राईलाई निमित्तमाथि निमित्त दिएको पत्र कार्यालयमा छाडेर उनी चैनपुर गएका थिए । तर, राई पनि कार्यालय गएनन् ।
राईले आफू बिरामी भएकाले कार्यालय जान नसकेको बताए । ‘निमित्तको जिम्मेवारी पाएको कुरा शुक्रबार दिउँसो मात्रै थाहा पाएँ,’ उनी भन्छन्, ‘तर, म बिरामी भएर आराम गरिरहेको छु ।’ निमित्त दिएको अघिल्लै दिन थाहा नभएको राई बताउँछन् ।
श्रेष्ठले भने आफू तालिममा जानुपर्ने भएको निमित्तको जिम्मेवारी दिएर हिँडेको बताए । ‘पत्र कार्यालयमा छाडेर म गएँ । उहाँ (राई) बिरामी हुनुहुन्छ भन्ने मलाई थाहै भएन,’ उनले भने । निमित्त प्रमुख प्रशासकीय नहुँदा पनि कार्यालयको कुनै काम नरोकिएको श्रेष्ठको दाबी छ ।
तर, कार्यालयमा सेवाग्राही भने सेवा नपाएर हैरान थिए । शुक्रबार नगरपालिकाको अधिकांश शाखामा कर्मचारी भेटिएनन् । पूरै नगरपालिका कर्मचारीविहीनजस्तै देखिन्थ्यो । मेयर र प्रमुख प्रशासकीय नभएको समयमा अधिकांश कर्मचारी कार्यकक्षमा नबस्ने गरेको गुनासो सेवाग्राहीको छ ।
कार्यवाहक मेयर देवबहादुर पुँवर मगर भन प्रमुख प्रशासकीय नहुँदा पनि नगरपालिकाको कामकारबाही चलिरहेको बताउँछन् । आर्थिक कार्य रोकिए पनि अरु काम नियमित रूपमा भइरहेको र थप समस्या नरहेको उनको भनाइ छ ।
मगर प्रमुख प्रशासकीय अधिकृत नभइ नहुने कामबाहेक अन्य काम नियमित भइरहेको बताउँछन् । उनका अनुसार शुक्रबार भने कार्यालयको केही शाखामा कर्मचारीहरु भेटिएनन् । अधिकांश शाखाका प्रमुख भारत भ्रमणमा गएको र केही तालिम तथा बिदामा रहेको जानकारी मगरले दिए ।
खाँदबारीका मयेर महेश थपलियासहित जनप्रतिनिधि र कर्मचारीको टोली फागुन १४ देखि २४ गतेसम्मका लागि भारतको हैदरावाद भ्रमणमा निस्किएको छ । भ्र्रमण टोलीमा सामाजिक विकास शाखाका प्रमुख खेम निरौला, सूचना प्रविधि शाखा प्रमुख दिनेश कट्टेल, आर्थिक प्रशासन शाखाका प्रमुख रुद्रमणि श्रेष्ठ, गुनासो सुनुवाइ अधिकृत लवहाङ राई, शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरे, मेयर थपलियाको सचिवालयका कर्मचारी गोकुल खनाललगायत रहेका छन् ।
भ्रमणमा फागुन ६ गते नै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्कासमेत सहभागी छन् । खाँदबारी नगरपालिकाको अनुरोधमा भारतीय दूतावासको सहजीकरण र सहयोगमा हैदरावादमा ‘एग्रीकल्चर, हर्टीकल्चर र टुरिज्म’सँग सम्बन्धित कार्यक्रमका लागि खाँदबारीको टोली गएको निमित्त मेयर मगरले बताए ।

























