
विराटनगर । मोरङको मिक्लाजुङमा करेन्ट लागेर मरेको बाख्रोलाई तान्ने क्रममा आइतबार दिउँसो १ जना युवतीको मृत्यु भएको छ ।
करेन्ट लागेर मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अनामिकाको बाख्रा शनिबारदेखि नै हराएको थियो ।
हजुरबुवा धनवीर राईलाई लिएर बाख्रो खोज्न निस्किएकी अनामिकाले खोजी गर्दै जाने क्रममा बिजुलीको पोलमुनि मरिरहेको देखिन् । मरेको बाख्रोलाई हतारहतार तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको डीएसपी जोशीले बताए ।
उनका अनुसार अनामिकाकै बारी हुँदै लगिएको १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको ‘ब्यारेल’ भाँचिएर पोलबाट विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पोलबाट ‘लिक’ भएको करेन्टले बाख्रो मरेको रहेछ,’ उनले भने, ‘बाख्रोलाई तान्न खोज्दा युवतीको पनि ज्यान गएको पत्ता लाग्यो ।’
मृत बाख्रोलाई तान्ने क्रममा अनामिकालाई दिउँसो १ः३० बजेतिर करेन्ट लागेको डीएसपी जोशीले बताए । उनका अनुसार करेन्ट लागेर अनामिकाको घटनास्थलमै मृत्यु भएको हो ।
अनामिकालाई करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए । तर, हजुरबुवा भने सकुशल रहेको प्रहरीले जनाएको छ । ‘नातिनीलाई जोगाउन जाँदा हजुरबुवालाई पनि सामान्य करेन्ट लागेछ । तत्काल जोगिन सकेकाले थप क्षति हुन पाएन । अवस्था सामान्य छ,’ प्रहरीले भन्यो ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोली भर्खरै घटनास्थल पुगेको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाने प्रहरीको तयारी छ । डीएसपी जोशीले घटनाको थप अनुसन्धान भइरहेको जनाए ।

























