‘होलीमा अवाञ्छित गतिविधि गर्नेलाई कारबाही हुन्छ’

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १७:१०

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले नजिकिँदै गएको रंगहरुको पर्व होलीमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न सबैलाई सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना जारी गरेर सभ्य, भव्य र सु–संस्कृत रूपमा होली मनाउन अनुरोध गरेका छन् । होलीको शुभकामनासमेत दिँदै यादवले यो पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्द्धन र प्रवर्धन गर्नुपर्नेमा जोड दिए ।

तर, एकअर्काको इच्छाविपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्नेतर्फ उनले सबैलाई सचेत गराएका छन् । मोरङ प्रशासनले इच्छाविपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्यलाई गैरकानुनी भनेको छ ।

त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन नचलाउन, सार्वजनिक स्थानहरुमा हो–हल्ला नगर्न, चर्को आवाजमा बाजा (डिजे) नबजाउन प्रजिअ यादवले सबैलाई आग्रह गरेका छन् । उनले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न नगराउन एवं स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न अनुरोध गरेका छन् ।

होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्ण हिसाबले मनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्धभाव कायम गर्ने कार्यमा सहयोग गर्न प्रशासनले सार्वजनिक अपिल गरेको छ । तर, रोक लगाइएका कार्य र अवाञ्छित गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जानकारी यादवले दिए ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले रमाइलो गर्ने नाममा अरुलाई असर पुर्याउन नहुने बताए । ‘होली पर्वलाई मर्यादित र हर्षोल्लासपूर्ण बनाउन सबैले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘कोही कसैले कानुनविपरीतका गतिविधि गरेमा कारबाही हुन्छ ।’

एसपी चिमरियाले होली लक्षित विशेष सुरक्षा योजना लागू गरिने जानकारी दिए । कुनै ठाउँमा गैरकानुनी र अवाञ्छित गतिविधि भएमा तत्काल सूचना दिएर सहयोग गर्न पनि उनले आह्वान गरेका छन् ।

यसवर्ष फागुन २९ गते पहाडको र चैत १ गते तराईको होली परेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.