
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज (मंगलबार) कोशीसहित ४ प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको हो । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हल्का वर्षा र हिमपातको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्छ ।

























