
विराटनगर । मोरङको जहदामा रहेको सार्वजनिक पोखरीमा डुबेर मामाघर आएकी नाबालिकाको मृत्यु भएको छ ।
जहदा गाउँपालिका–४ स्कुल टोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर मन्तिदेवी मुखियाकी २ वर्षीया छोरी रोशनी मुखियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भारतको अररिया सोनापुर घर भएकी मन्तिदेवी नाबालिका छोरीलाई लिएर सोमबार जहदास्थित माइती घर आएकी थिइन् ।
मन्तिदेवीको माइती घरनजिकै रहेको पोखरीमा डुबेर उनकी नाबालिका छोरीको मृत्यु भएको जोशीले बताए । डुबेर घाइते भएको अवस्थामा देखेर आफन्त उद्धार गरी नाबालिकालाई सोमबार साँझ उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो ।
अस्पताल पुर्याउनसाथ राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले बताए । खेल्ने क्रममा नाबालिका पोखरीमा खसेर डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । डीएसपी जोशीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

























