
काठमाडौं । नेपाल प्रहरीका २ जना डीएसपी (प्रहरी नायव उपरीक्षक)लाई एसपी (प्रहरी उपरीक्षक) बढुवाका लागि सिफारिस गरिएको छ ।
जनपद प्रहरी समूहका डीएसपीहरु रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई सोही समूहको एसपी बढुवाका लागि बुधबार सिफारिस गरिएको हो । बढुवाको सिफारिसमा परेका कार्की काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखा र बस्नेत राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा कार्यरत छन् ।
उनीहरुको बढुवा सिफारिसविरुद्ध कुनै उजुरी भएमा १ साताभित्रमा गर्न सकिने छ । कुनै उजुरी नपरेमा उनीहरु एसपीमा बढुवा हुन पाउने छन् ।
एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनीहरुको स्थानमा कार्की र बस्नेतलाई बढुवा गर्न सिफारिस गरिएको हो ।
यसअघि डेढ महिना पहिले ३७ जनालाई डीएसपीबाट एसपीमा बढुवा गरिएको थियो। तर, सिनियर रहेका कार्की र बस्नेतलाई छुटाएर डेढ वर्ष जुनियरलाई बढुवा गरिएको थियो । उनीहरुका ब्याचबाट ३ वर्ष पहिले नै एसपीमा बढुवा भइसकेका छन् ।

























