
विराटनगर । तराई मधेशमा आज (शुक्रबार) धुमधामसाथ रङहरुको पर्व होली मनाइँदै छ । हिमाली तथा पहाडी जिल्लामा मनाएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन छ ।
फागुपूर्णिमाका दिन बिहीबार हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासपूर्वक होली मनाइयो । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा रङ खेलेर रमाइलो गरी होली मनाइँदै छ ।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै मनाइने होलीलाई उल्लास र रंगीचंगी पर्वका रूपमा लिने गरिन्छ । सबैलाई रङमा रङ्ग्याउने होली पर्वलाई समानता र सद्भावको प्रेरणाको स्रोत मानिन्छ ।
असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्ने गर्छ । धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमंग प्रदान गर्न होलीको विशेष भूमिका रहन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको शास्त्रीय मान्यता छ । रसरङ, नाचगान, खानपिन, मनोरञ्जनसहित मनाउने होलीको आफ्नै विशेषता महत्व छ ।
भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउन यस पर्वले विशेष भूमिका खेलेको हुन्छ । होलीको अवसरमा हिमाली तथा पहाडी जिल्लामा बिहीबार सार्वजनिक बिदा दिइएको थियो । तराईका जिल्लामा शुक्रबार बिदा दिइएको छ ।
होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको छ । ठाउँठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ । रमाइलो गर्ने नाममा हुनसक्ने सम्भावित घटना नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा एवं अवाञ्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको तयारी छ । साथै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होली खेल्न सरकारले सबैमा आह्वान गरेको छ ।
कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला नहान्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ सेवन (मापसे) एवं लागुपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन नचलाउन, ट्राफिक नियमको पालना गर्न तथा कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरून्त जानकारी गराउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।























