महोत्तरीमा आज होली मनाइँदै

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार ०७:११

महोत्तरी । महोत्तरीमा आज (शनिबार) होली पर्व मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लाको होली बिहीबार र तराई–मधेशको होली शुक्रबार मनाइएको थियो ।

फागुपूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । महोत्तरीका ७ स्थानीयतहमा आज बिहानैदेखि धुमधुमसाथ होली मनाउन क्रम चलिरहेको हो ।

मधेशमा होली पर्व मनाउने ३ परम्परा छन् । पर्वते समुदायले फागुपूर्णिमाकै दिन मनाए । पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाए ।

यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज पनि ठाउँठाउँमा होली खेलिँदै छ । महोत्तरीका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका स्थानीय तहमा आज विशेष होली खेलिँदै छ ।

खासमा १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीले यात्राको १६ औं दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेको भोलिपल्ट होली मनाउने चलन छ । शुक्रबार अन्तर्गृह परिक्रमा गरिएको थियो ।

फरकफरक परम्परागत मान्यताले होली मनाइने दिन फरक परेपनि यहाँ तीनै दिनको होलीमा सबैजसो सरिक हुँदै आएका छन् । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार उल्लासमय र रमाइलो पर्व होली आपसी घुलमिल एवं हर्षोल्लासपूर्ण तरिकाले मनाइन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.